Home Login
प्रवास

राष्ट्रीय लोक तथा दोहरी गीत प्रतिष्ठान युरोपको चौथो अधिवेशन बार्सिलोनामा हुँदै

स्पेन (बार्सिलोना) — नेपाली लोक साहित्यको प्रवर्द्धन, संरक्षण र व्यवस्थापन गर्दै यूरोपलाई कर्मथलो बनाएका प्रवासी नेपाली कलाकारहरूलाई एकताबद्ध गर्ने उद्देश्यले स्थापित राष्ट्रीय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल, यूरोप शाखाले आफ्नो चौथो अधिवेशनको तयारी पूरा गरेको छ ।

आगामी नोभेम्बर ४ शनिबारका दिन स्पेनको पर्यटकीय शहर बार्सिलोनामा संस्थाको चौथो अधिवेशन भव्यताका साथ आयोजना हुन लागेको हो । आयोजकका अनुसार, कार्यक्रम बार्सिलोनास्थित रेस्टुरेन्ट अरोमा (पुरानो गान्धी रेस्टुरेन्ट) मा दिउँसो २ बजेदेखि सञ्चालन हुनेछ । यस अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्नुका साथै युरोपमा नेपाली लोक संस्कृतिको प्रवर्द्धनमा थप योजनाहरू तय गर्नेछ ।

संस्थाका वर्तमान अध्यक्ष पूर्ण बहादुर आर्यालका अनुसार, अधिवेशनका लागि सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारीहरू पूरा भइसकेका छन् । अधिवेशनमा युरोपका करिब २५ देशबाट झण्डै २०० प्रतिनिधि तथा पर्यवेक्षकहरू सहभागी हुने अपेक्षा गरिएको छ । अध्यक्ष आर्यालले यस अधिवेशनलाई ऐतिहासिक र भव्य रूपमा सफल पार्न आयोजक समिति पूर्ण रूपमा लागिपरेको बताउनुभयो ।

अधिवेशनमा संस्थाको आर्थिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरिनेछ । यसका साथै, कार्यक्रममा युरोपमा रहेका ख्यातिप्राप्त कलाकारहरूद्वारा विविध सांस्कृतिक कार्यक्रम र मौलिक लोक प्रस्तुतिहरू समेत रहनेछन्, जसले नेपाली लोक संस्कृतिको झलक दिनेछ ।

सन् २०१६ सालमा सुमित्रा घिमिरेको अध्यक्षतामा स्थापना भएको यो संस्था, हाल युरोपका विभिन्न देशहरूमा रहेका नेपाली कलाकार र लोक साहित्य प्रेमीहरूको साझा र लोकप्रिय मञ्चका रूपमा स्थापित छ ।

आफ्नो स्थापनाकालदेखि नै संस्थाले नेपाली मौलिक बाजागाजा र लोक संस्कृतिको युरोपमा प्रचार–प्रसार गर्दै आएको छ । यसले प्रवासमा हुर्किएका नयाँ पुस्तालाई समेत आफ्नो संस्कृतिसँग जोड्दै जन्मभूमिप्रतिको माया र सांस्कृतिक पहिचान जीवित राख्ने महत्वपूर्ण काम गर्दै आएको छ ।

आयोजक समितिले अधिवेशनलाई सभ्य र भव्य रूपमा सम्पन्न गरी सर्वसम्मत नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेको छ । यो अधिवेशनले युरोपमा नेपाली लोक संस्कृतिको जगलाई थप मजबुत बनाउनुका साथै प्रवासी कलाकारहरूबीचको एकतालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

Leave a Reply