जर्मनी — पछिल्लो समय नेपाली चलचित्रहरूको अन्तर्राष्ट्रिय प्रदर्शनले तीव्रता पाइरहेको छ । यसै क्रममा, गत अगस्तमा नेपालमा रिलिज भएको चलचित्र ‘मोहर’ को युरोपेली मुलुक जर्मनीमा विशेष प्रदर्शन हुने पक्का भएको छ । प्राप्त जानकारीअनुसार, चलचित्र आउँदो नोभेम्बर ८ तारिख, शनिबारका दिन जर्मनीको न्यू म्याक्सिम सिने हलमा प्रदर्शन गरिनेछ । प्रवासमा रहेका नेपाली दर्शकहरूलाई लक्षित गर्दै यो विशेष प्रदर्शन आयोजना गरिएको हो ।
आयोजकका अनुसार, चलचित्र दिउँसो २:३० बजेदेखि प्रदर्शन हुनेछ । चलचित्र हेर्नका लागि टिकट शुल्क समेत निर्धारण गरिएको छ ।
बालबच्चाका लागि : १० युरो
अन्य (वयस्क) का लागि : १५ युरो
जर्मनीमा रहेका नेपाली चलचित्रप्रेमीहरूले तोकिएको समयमा नै हलमा उपस्थित भएर चलचित्र हेर्न सक्नेछन् ।
‘मोहर’ लाई युवा निर्देशक ओम प्रतीक (ओम प्रतीक गुरुङ) ले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित तथा स्थापित कलाकारहरूको बाक्लो उपस्थिति रहेको छ । चलचित्रमा मुख्य भूमिकामा पल शाह, अर्जुन जङ्ग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा र रविन्द्र झा रहेका छन् ।
यसैगरी, अन्य कलाकारहरूमा लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नवीन खतिवडा, अर्जुन आचार्य र बाल कलाकार सारा शर्मा को पनि अभिनय देख्न सकिनेछ ।
नेपालमा गत अगस्त महिनामा रिलिज भएको यो चलचित्रले अब जर्मनीमा रहेका नेपाली दर्शकमाझ आफ्नो उपस्थिति जनाउने भएको छ ।



                                

