संयुक्त अरब इमिरेट्स (युएई) का परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएका छन् । उपप्रधानमन्त्री समेत रहेका परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाहयानले नेपालको दुई दिने भ्रमण गर्ने भएका हुन् ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा युएईका उपप्रधान तथा परराष्ट्रमन्त्री अल नाहयानले ९–१० वैशाख (२२–२३ अप्रिल) मा नेपालको दुई दिने भ्रमण गर्न लागेका हुन् ।
उपप्रधान तथा परराष्ट्रमन्त्री अल नाहयानको नेपाल भ्रमणका क्रममा उनका नेपाली समकक्षी डा. आरजु राणा देउवासँग भने भेटवार्ता भने हुने छैन । अल नाहयान नेपाल भ्रमणमा हुँदा परराष्ट्रमन्त्री डा. राणा थाइल्यान्ड भ्रमणमा हुनेछिन् ।
युएईको राजपरिवारका शक्तिशाली सदस्य शेख अब्दुल्लाह सन् २००६ देखि त्यहाँ परराष्ट्रमन्त्रीको जिम्मेवारीमा छन् । ९ वर्षअघि पनि तत्कालिन परराष्ट्रमन्त्री कमल थापाको निमन्त्रणामा २०७३ वैशाखमा नेपाल भ्रमण गरेका थिए ।