रोमानिया — युरोपेली मुलुक रोमानियामा रहेको जोसुवा फुटबल क्लबले आयोजना गरेको चौथो फुटसल प्रतियोगिता अप्रील १९ शनिबारदेखि सुरु हुने भएको छ । उक्त प्रतियोगिता अप्रिल २१ तारिख सम्म हुने भएको छ ।
रोमानियाको बुकारेस्टमा रहेको प्रोग्रेसुल एरिनामा फुटसल प्रतियोगिता आयोजना हुन लागेको जोसुवा फुटबल क्लबका सचिव विजय गुरुङले जानकारी दिए ।
२०२२ देखि निरन्तर वार्षिक रुपमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको जोसुवा फुटबल क्लबले यसपटकको प्रतियोगितामा २९ टिमले सहभागिता जनाउने भएको हो ।
रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपेली मुलुक रोमानिया पुगेका नेपालीहरूको लागि स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ उक्त खेलकुद प्रतियोगिता आयोजना गरेको क्लबका सचिव विजय गुरुङले बताए ।
सचिव गुरुङका अनुसार, २०२२ मा स्थापना भएको क्लबले २०२२ देखि निरन्तर वार्षिक रुपमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको र यस खेलकुद प्रतियोगिताबाट भाईचारा र सद्भाव समेत बढाउने विश्वास रहेको बताएका छन्।
त्यस्तै गुरुङका अनुसार आपत्कालीन कोष खडा गरी कुनै दुर्घटना वा ठूलो रोगबाट ग्रस्त भइ आर्थिक कमजोर भएका नेपाली (विशेष गरि खेलाडी)लाई आर्थिक सहायता गर्ने उद्देश्यले उक्त खेलकुद प्रतियोगिता गरेको बताएका छन् ।
जोसुवा फुटबल क्लबले आयोजना गरेको चौथो फुटसल प्रतियोगिता रोमानिया रहेका विभिन्न संघ संस्थाहरूले साथ दिएका छन् ।
दश हजार रोन (रु ३ लाख) सहित ट्रफि र मेडल चौथो फुटसल प्रतियोगिताको प्रथम पुरस्कार रहेको छ । त्यस्तै दोस्रो पुरस्कारमा ट्रफि, मेडल सहित पाँच हजार रोन (रु. १.५ लाख) रहेको छ ।
क्लबले उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार दिने भएको छ । जसमा उत्कृष्ट खेलाडीलाई ट्रफि सहित एक हजार रोन (रु. ३० हजार), उत्कृष्ट गोल रक्षकलाई ट्रफि सहित एक हजार रोन (रु. ३० हजार) त्यस्तै सर्वाधिक गोलकर्तालाई ट्रफि सहित एक हजार रोन (रु. ३० हजार) रहेको छ ।
त्यस्तै सान्त्वना पुरस्कारहरुमा तेस्रो र चौथोलाई चार सय रोन (रु. १२ हजार) बराबरको ग्रोसरी गिफ्ट भाउचर
म्यान अफ द म्याचलाई मेडल, प्रत्येक सहभागि टिमलाई मायाको चिनो सहित तिन सय रोन (रु. नौ हजार) बराबरको १ घण्टा फुटसल पास र दर्शकहरु मध्येबाट लक्की–ड्रबाट केहीलाई आर्कषक पुरस्कार समेत रहेको आयोजक जोसुवा फुटबल क्लबले बताए ।