Home Login
पोर्चुगल

१० घण्टाको अन्धकारपछि फर्कियो युरोपको स्पेन, पोर्चुगल र फ्रान्स

पोर्चुगल — सोमबार बिहान स्थानिय समयअनुसार बिहान ११ : ४५ बजेतिर एकैचोटि युरोपको स्पेन फ्रान्स र पोर्चुगलमा बिजुली बन्द भएको थियो । बिजुली चारैतिर बन्द हुँदा सर्वसाधारणहरू निकै मारमा परेका थिए ।

विद्युत नहुदा पाँच करोड भन्दा धेरै मानिसहरूको जीवन अस्तव्यस्त नै भएको थियो । स्पेन र फ्रान्सबिचको विद्युत लाईनमा समस्या आएकाले ५० वर्षयताकै सबैभन्दा ठुलो विद्युत आपुर्ति बन्न हुन पुगेको एजेन्सीले बताएको छ ।

अचानक बिुजली बन्द हुदा बिहानदेखि विमानस्थलमा उडान प्रभावित भएको थियो , सडकमा रहेको ट्राफिक लाइटले काम गरेको थिएन, जसका कारण यातायात सेवा समेत प्रभावित भएको थियो । केही स्थानमा मोवाईलको टावर समेत थिएन् । अस्पतालहरुमा जेनेरेटरबाट विद्युत खपत गरिएको थियो । रेल र मेट्रो सेवा बन्द भएको थियो ।

विद्युत प्रभावले गर्दा लाखौँ मानिसहरूको जन-जीवन अस्तव्यस्त बनेको थियो भने विद्युत, इन्टरनेट, टेलिफोन सेवा बन्द हुँदा एयरपोर्ट, रेल, सार्वजनिक सवारी साधन, कलकारखाना, शैक्षिक संस्थाहरु,  हस्पिटल, औषधी पसल, सुपरमार्केट, होटल रेस्टुरेन्ट लगायत अधिकांश क्षेत्र गम्भीर रूपमा प्रभावित समेत बनेको थियो ।

दुर्लभ वायुमण्डलीय घटनाका कारण यस्तो भयानक समस्या उत्पन्न भएको आंकलन गरिएको थियो । विद्युत आपूर्तिको सञ्जाल व्यवस्थापन गर्ने पोर्चुगलको कम्पनी REN का अनुसार, स्पेनको विद्युतीय क्षेत्रमा अचानक आएको तापक्रम परिवर्तनका कारण उच्च भोल्टेज प्रसारण लाइनहरूमा अस्वाभाविक कम्पन उत्पन्न भयो ।

यसले युरोपेली ग्रिडमा समन्वय बिग्रिएर एकैसाथ ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द गराएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार यो अवरोध कुनै साइबर आक्रमण वा आतंकवादी गतिविधिका कारण नभएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

त्यस्तै, फ्रान्सको विद्युत ट्रान्समिशन कम्पनी RTE ले आगलागीका कारण अवरोध भएको आशंकालाई समेत नकारेको छ । विद्युत अवरोधका कारण स्पेनको म्याड्रिड, बार्सिलोना र भ्यालेन्सिया जस्ता प्रमुख शहरहरूमा मेट्रो सेवा ठप्प भएको थियो । ट्राफिक बत्तीहरू बन्द हुँदा सडक यातायात अव्यवस्थित बनेको थियो ।

पोर्चुगलको राजधानी लिस्बनमा पनि मेट्रो र रेल सेवा ठप्प रह्यो । विमानस्थलमा केही घण्टाका लागि उडानहरू अवरुद्ध भएका थिए भने राजधानीका विभिन्न स्थानमा ट्राफिक बत्ती बन्द हुँदा दैनिक जन-जीवन प्रभावित बनेको थियो ।

अन्डोरा र फ्रान्सको दक्षिणी क्षेत्रमा पनि केही घण्टाका लागि विद्युत आपूर्ति बन्द भएको थियो । यद्यपि, फ्रान्समा सेवा छिट्टै पुनःस्थापना गरिएको बताइएको छ ।

विद्युत अवरोधका कारण धेरै स्थानमा खानेपानी आपूर्ति, स्वास्थ्य सेवा र संचार सेवामा अस्थायी समस्या देखिएको थियो । अधिकारीहरूले आम जनतालाई धैर्य रहन र अत्यावश्यक सेवाहरूको प्रयोगमा सजग रहन आग्रह समेत गरेको थियो ।

करिब ९ देखी १० घण्टापछि पुन:फर्केको विद्युत आउँदा सर्वसाधारणहरू निकै खुसी भएका थिए । मङ्गलबार बिहानसम्म सबै क्षेत्रहरूमा विद्युत सामान्य रूपले फर्किसकेको थियो ।

यस्तो प्रकृतिको घटना युरोपमा अत्यन्त दुर्लभ मानिन्छ। युरोपेली विद्युत प्रसारण नेटवर्क (ENTSO-E) ले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ ।

Leave a Reply