इजरायल — संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले माल्टाको अन्तर्राष्ट्रिय जल क्षेत्रमा गाजा जाने मानवीय सहायता जहाजमा भएको रिपोर्ट गरिएको ड्रोन आक्रमणको स्वतन्त्र अनुसन्धानको लागि आह्वान गरेको छ । इजरायललाई गाजामा लामो समयदेखिको नाकाबन्दी हटाउन आह्वान समेत गरेको छ ।
फ्रिडम फ्लोटिला गठबन्धनद्वारा आयोजित र कन्साइन्स नामक जहाजलाई शुक्रबार बिहान गाजामा मानवीय आपूर्ति बोकेर जाँदा ड्रोनद्वारा प्रहार गरेको बताइएको छ ।
ड्रोन प्रहारपछि जहाजमा आगो लागेको थियो, जसले गर्दा माल्टिज क्षेत्रभन्दा बाहिर अन्तर्राष्ट्रिय जल क्षेत्रमा संकटकाल घोषणा गरिएको छ ।
संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रवक्ता थामीन अल-खेतानले भने : जवाफदेहीता सुनिश्चित गर्ने उद्देश्यले सक्षम अधिकारीहरूद्वारा स्वतन्त्र, निष्पक्ष र प्रभावकारी अनुसन्धान हुनु महत्त्वपूर्ण छ ।
फ्रिडम फ्लोटिला गठबन्धनले आक्रमणको लागि इजरायललाई दोष दिएको छ र कथित बम विष्फोट र गाजाको लामो समयदेखिको नाकाबन्दी दुवैमा अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको उल्लेख गर्दै इजरायली राजदूतहरूलाई बोलाउन आह्वान गरेको छ ।
प्यालेस्टाइनका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बानीजले पनि घटनाको निन्दा गर्दै युरोपेली संघका नेताहरूलाई आक्रमणको सार्वजनिक रूपमा निन्दा गर्न र तत्काल अनुसन्धानको माग गर्न आग्रह गरे ।
यसैबीच, हमासले इजरायललाई अन्तर्राष्ट्रिय कानूनको बारम्बार उल्लङ्घन गरेको आरोप लगाउँदै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई हस्तक्षेप गर्न अपील गरेको छ ।
अल-खेतानले गाजामा गहिरो हुँदै गएको मानवीय संकटप्रति पनि ध्यानाकर्षण गराए, इजरायलले मार्च २ देखि सबै सामानहरू प्रवेश गर्नबाट रोक लगाएको उल्लेख गर्दै, जसले गर्दा नागरिकहरूको अवस्था झनै बिग्रँदै गएको छ ।
‘यो गाजाका बासिन्दाहरूको सामूहिक दण्ड बराबर हो, उनले भने। ‘सामूहिक दण्ड अन्तर्राष्ट्रिय मानवीय कानूनद्वारा निषेधित छ र युद्ध अपराध बराबर हो’ ।
कब्जा गर्ने शक्तिको रूपमा, इजरायल कानुनी रूपमा खाद्यान्न र चिकित्सा आपूर्तिको व्यवस्था सुनिश्चित गर्न वा तेस्रो पक्षहरूबाट मानवीय सहायतालाई सहज बनाउन बाध्य छ, उनले भने ।
“हामी इजरायललाई गाजामा लगाइएको नाकाबन्दी तुरुन्तै हटाउन र जीवन बचाउने सामग्रीको प्रवेश अनुमति दिन आह्वान गर्दछौं,” अल-खेतानले निष्कर्ष निकाल्दै भने ।