पोर्चुगल — पोर्चुगलमा आम चुनाव आउन एक हप्ता बाँकी रहदा वर्तमान प्रधानमन्त्री तथा सामाजिक प्रजातान्त्रिक पार्टी (PSD) का नेता लुइस मोन्टेनेग्रोले नेतृत्व गरिरहेको सत्तारूढ डेमोक्रेटिक एलायन्स (AD) ले मे १८ मा हुने आम निर्वाचन अघि सार्वजनिक गरिएको नयाँ मत सर्वेक्षणमा अग्रता कायम राखेको छ । संसदमा स्पष्ट बहुमतका लागि चाहिने मत प्राप्त गर्ने सम्भावना भने कम देखिएको हो ।
पोर्चुगलको राष्ट्रिय पत्रिका Expresso ले प्रकाशित गरेको ICS / ISCTE को सर्वेक्षण अनुसार AD को समर्थन २ हप्ता अघि ३३% थियो भने अहिले एक प्रतिशत घटेर हाल ३२% मा रहेको छ । यसैगरी प्रमुख प्रतिस्पर्धी सोसलिस्ट पार्टी (PS) को समर्थन पनि २९% बाट घटेर २७% मा झरेको छ ।
पोर्चुगलमा समानुपातिक प्रतिनिधित्व प्रणाली अनुसार संसदमा स्पष्ट बहुमतका लागि कम्तीमा ४२% मत आवश्यक पर्छ । पोर्चुगलको संसद २३० सदस्यीय छ । सरकार बनाउन बहुमतका लागि ११६ सीट र झण्डै ४२% मत आवश्यक पर्दछ ।
मार्च २०२४ को निर्वाचनमा AD र समाजवादी पार्टी क्रमशः २८% र २७% मतसहित लगभग बराबरीमा रहेपछि AD ले अल्पमत सरकार बनाएको थियो ।
पोर्चुगलको क्याथोलिक युनिभर्सिटीका राजनीतिक विज्ञानका प्राध्यापक जोसे टोमाज कास्टेलो ब्रान्कोले भने,’मत सर्वेक्षणहरुले देखाउँछ कि निर्वाचनपछिको अवस्था आजको जस्तै हुने सम्भावना छ । यही नै सबैभन्दा नाटकीय परिणाम हुनेछ’, उनले भने ।
प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले दुई महिना अघि संसदबाट विश्वास मत लिन असफल भएपछि यो तीन वर्षमा पोर्चुगलमा तेस्रो पटक संसदीय निर्वाचन हुन लागेको हो । उनको परिवारको डाटा सुरक्षा सल्लाहकार फर्मको लेनदेनमा उठेको प्रश्नका कारण विपक्षी दलहरूले उनको निष्ठामाथि शंका गरेका थिए । तर मोन्टेनेग्रोले कुनै गलत कार्य नगरेको दाबी गरेका छन् ।
चरम दक्षिणपन्थी पार्टी शेगा (Chega) जोसँग मोन्टेनेग्रो सहकार्य गर्न अस्वीकार गर्दै आएका छन्, उसलाई १९% मतको समर्थन देखिएको छ — जुन गत वर्ष १८% थियो । पार्टीका केही शीर्ष नेताहरूमा विवाद भएको भए पनि यसको असर मत सर्वेक्षणमा खासै देखिएको छैन् ।
लिबरल इनिसियटिभ ५% मा कायम छ, जुन अघिल्लो वर्षसरह नै हो, तर AD सँग मिलेर स्पष्ट बहुमत ल्याउन यो पर्याप्त छैन ।
सर्वेक्षण अनुसार १२% मतदाताहरू अझै अनिश्चित छन् । यो सर्वेक्षणका लागि ICS / ISCTE ले अप्रिल २५ देखि मे ५ सम्म १ हजार २ जनासँग कुराकानी गरेको थियो । सर्वेक्षणको सम्भावित त्रुटिको सीमा ± ३.१ प्रतिशत अंक छ ।
पछिल्लो समय पोर्चुगलमा देखिएका ठूला दलहरू, अहिले चुनाव प्रचार-प्रसारमा व्यस्त रहेको देखिन्छ । यद्यपि कुन पार्टीको बहुमत आउँछ भन्ने अहिलेसम्म यकिन गरेको छैन । कसैको पनि बहुमत नआएमा सरकार मिलेर चल्नुपर्ने अवस्था आउन सक्छ, सम्भवत अहिलेको सरकार जस्तै मिलेर जाने सम्भावना देखिएको छ ।