बेलायत — नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी (साम्बा) बेलायत आइपुगेकी छन् ।
तमुधिं यूकेको आयोजनामा यही आइतबार २५ मेमा अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्टस् फिल्डमा हुने २३ औं गोर्खाकपमा सहभागी हुन, उनी विहीबार लन्डन आइपुगेकी हुन् ।
लन्डनको हिथ्रो विमानस्थल उत्रिंदा साम्बालाई गोर्खाकप आयोजक तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, उपाध्यक्ष कमल कोने गुरुङ, सचिव विमल गुरुङ, एनआरएनए आइसीसी सदस्य दिलरास गुरुङ, सहारा यूके अध्यक्ष कृष्ण गुरुङ, सहारा यूके पूर्व अध्यक्ष कुसाङ गुरुङ, अजयजंग थापा लगायतले न्यानो स्वागत गरेका थिए ।
राष्ट्रिय खेलाडीलाई प्रोत्साहन र सम्मानका साथै उनीहरुको उपस्थितिले बेलायतका नेपाली खेलाडीलाई पनि हौसला मिलोस् भनेर साम्बालाई आमन्त्रण गरिएको तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले बताए ।
हाल फ्रान्सको शीर्ष डिभिजनको क्लब ‘अन आभान्ट ग्वेङ’गाम्प’ बाट खेलिरहेकी साम्बा युरोपमा व्यवसायिक फुटबल खेल्ने पहिलो नेपाली खेलाडी हुन्।
यस वर्ष गोर्खाकपमा मेन क्याटगोरीमा ३२, भेट्रानतर्फ १६ र महिला २ टीमबीच प्रतिष्पर्धा हुंदैछ । मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, प्यारासुट डिस्प्ले, एफएक ट्रफीकप उपाधि प्रदर्शनी, अंग्रेजी क्लबका खेलाडीहरुको उपस्थितिलगायतका आकर्षण रहने गोर्खाकपमा यसपटक नेपाली तथा विदेशी खाना, सामग्री, व्यापार, च्यारिटी, हेल्थ शिविर आदिका सय बढी स्टलसमेत रहनेछन् ।