युरोप संयोजकमा चिरञ्जीविको उम्मेदवारी

गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशनमा विभिन्न योजना र नारासहित पेसाले वैज्ञानिक रहेका डा. चिरञ्जीवी खड्काले युरोप संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । केही वर्षयता युरोपको चेक रिपब्लिकमा बसोबास गर्ने डा खड्काले पोर्चुगल, डेनमार्क, फ्रान्स, जर्मनी लगायतका देशबाट एनआरएनए प्रतिनिधि (डेलिगेट्स) भएर मतदान गर्न आइपुगेका मतदाताहरू सँगको छलफल पश्चात उम्मेदवारी दिएका हुन् ।

एनआरएनए आइसीसी सदस्यसमेत रहेका डा खड्का चेक रिपब्लिकको दुई कार्यकाल अध्यक्ष चुनियर काम गरिसकेका छन् । एनआरएनएकर्मी विचमा प्राज्ञिक र बौद्धिक व्यक्तिको रुपमा परिचय बनाएका उनी एनआरएनएका क्षेत्रीय समितिहरुलाई प्रभावकारी बनाउनु पर्ने योजना सहित अघि बढेको बताउँछन् ।

‘एनआरएनएका क्षेत्रीय समितिहरु हालसम्म संयोजनकारी मात्रै भए अबका दिनमा प्रभावकारी र कार्यकारी बनाउनु पर्ने आवश्यकता छ’, डा खड्काले भने । आइसीसी सदस्यहरूलाई प्रभावकारी रूपमा अभियानसँग जोड्न, क्षेत्रीय परिषद्लाई संरचनागत रूपमा व्यवस्थित गर्न, राष्ट्रिय समन्वय परिषद्हरूलाई अधिकतम अधिकार सम्पन्न गराउँदै केन्द्रप्रति उत्तरदायी बनाउन, सबै क्षेत्रहरूमा क्षेत्रीय कोषलाई फाउन्डेशन मार्फत व्यवस्थापन गर्न, राष्ट्रिय समन्वय परिषद्हरूमा सदस्यता वितरण गर्न आफुले उम्मेदवारी दिएको उनले जानकारी दिए ।

‘गैरआवाशिय नेपाली संघ जस्तो संस्थाको संरचनागत र संस्थागत विकासका विषयहरूमा मैले धेरै अनुभव हासिल गरेको छु । यो संस्थालाई कसरी आत्मनिर्भर, प्रभावकारी, व्यवहारिक र अझ बृहत बनाउन सकिन्छ भन्ने स्पष्ट मार्ग चित्र सहित म आगामी कार्यकाल २३-२५ को लागि युरोप क्षेत्रीय संयोजक पदमा रहेर काम गर्ने दृढ प्रतिवद्धतासहित आकांक्षीको रूपमा प्रस्तुत भएको छु’, डा खड्काले थपे ।

उनले निर्वाचन प्रक्रियालाई थप व्यवस्थित गर्न, केन्द्रीय सचिवालयलाई क्षेत्रीय गतिविधिहरूमा अधिकतम प्रयोग गर्न विभाग बनाई काम गर्न, सचिवालय बैठकदेखि क्षेत्रीय सम्मेलन सम्मका गतिविधिहरूलाई थप व्यवस्थित गरी सबैको अधिकतम सहभागिताको सुनिश्चितता गर्न, पर्यटन र नेपाली उत्पादनको प्रवर्धनलाई राष्ट्रिय समन्वय परिषद्हरूको स्थाई कार्यक्रमको रूपमा स्थापित गराउने लगायतका थुप्रै कामहरू गर्ने योजना रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *