पोर्चुगल — भारतको गुजरातको अहमदाबाद शहरमा एयर इन्डियाको एक विमान दुर्घटनाग्रस्त भएपछि अन्तर्राष्ट्रिय समुदायमा चिन्ता व्यक्त गरिएको छ । दुर्घटनाग्रस्त विमानमा २४२ जना यात्रु सवार थिए, जसमा सात पोर्चुगिस नागरिक समेत थिए । पोर्चुगलको दोस्रो ठूलो दल सेगा पार्टीका सभापति आन्द्रे भेन्टुरा र प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सेगा पार्टीका सभापति आन्द्रे भेन्टुराले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भने, ‘पोर्चुगलको EEC मा प्रवेशको ४० औं वार्षिकोत्सव मनाउने समारोहबाट म भर्खरै बाहिर निस्केको छु र भारतमा भएको दुखद विमान दुर्घटनाको बारेमा थाहा पाएँ। पीडितहरूमध्ये धेरै पोर्चुगिज नागरिकहरू पनि थिए। यो एउटा दुःखद घटना हो। हाम्रो प्रार्थना र समवेदना उनीहरू र उनीहरूका परिवारहरूसँग छ’ ।
एयर इन्डियाद्वारा जारी गरिएको औपचारिक विज्ञप्तिका अनुसार, उक्त विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक, १ जना क्यानडाली नागरिक र ७ जना पोर्चुगलका नागरिक थिए । उक्त दुर्घटनामा हालसम्म २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ।
हाल दुर्घटनाको कारणको बारेमा विस्तृत विवरण आइसकेको छैन। भारतीय उड्डयन प्राधिकरण र एयर इन्डियाको संयुक्त टोली घटनास्थलमा पुगेर अनुसन्धान प्रारम्भ गरिसकेको जनाइएको छ । स्थानीय प्रशासन, सुरक्षा बल तथा उद्धार टोली घटनास्थलमा सक्रिय छन् ।
अहमदाबाद विमानस्थल नजिकै रहेका प्रत्यक्षदर्शीहरूले ठूलो आवाजसहित विमान धर्तीमा ठोक्किएको बताएका छन् । उद्धार कार्यमा संलग्न एक अधिकारीका अनुसार, विमान अवतरणको क्रममा असन्तुलित भएको देखिएको थियो ।