पोर्चुगल — भारतको गुजरातको अहमदाबाद शहरमा एयर इन्डियाको एक विमान दुर्घटनाग्रस्त भएपछि अन्तर्राष्ट्रिय समुदायमा चिन्ता व्यक्त गरिएको छ । दुर्घटनाग्रस्त विमानमा २४२ जना यात्रु सवार थिए, जसमा सात पोर्चुगिस नागरिक समेत थिए । पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, ‘भारतमा भएको दुखद विमान दुर्घटनाको बारेमा थाहा पाउँदा मलाई गहिरो आक्रोश लागेको छ, जसमा सात पोर्चुगिज नागरिकहरू यात्रा गरिरहेका थिए । मेरो तर्फबाट र सरकारको तर्फबाट, म पीडित परिवारहरूसँग मेरो समवेदना र गहिरो ऐक्यबद्धता व्यक्त गर्न चाहन्छु’, पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले यस घटनाप्रति गहिरो दुःख व्यक्त समेत गरेका छन् ।
एयर इन्डियाद्वारा जारी गरिएको औपचारिक विज्ञप्तिका अनुसार, उक्त विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक, १ जना क्यानडाली नागरिक र ७ जना पोर्चुगलका नागरिक थिए । उक्त दुर्घटनामा हालसम्म २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ।
हाल दुर्घटनाको कारणको बारेमा विस्तृत विवरण आइसकेको छैन। भारतीय उड्डयन प्राधिकरण र एयर इन्डियाको संयुक्त टोली घटनास्थलमा पुगेर अनुसन्धान प्रारम्भ गरिसकेको जनाइएको छ । स्थानीय प्रशासन, सुरक्षा बल तथा उद्धार टोली घटनास्थलमा सक्रिय छन् ।
अहमदाबाद विमानस्थल नजिकै रहेका प्रत्यक्षदर्शीहरूले ठूलो आवाजसहित विमान धर्तीमा ठोक्किएको बताएका छन् । उद्धार कार्यमा संलग्न एक अधिकारीका अनुसार, विमान अवतरणको क्रममा असन्तुलित भएको देखिएको थियो ।