Home Login
बेल्जियम

नेपाली व्यवसायी संघ र होरेका फ्लान्दरन बीच सहकार्य

काजाब्लांका क्यासेल्लो बेल्जियम –

नेपाली व्यवसायी संघ बेल्जियम र होरेका फ्लान्दरन बेल्जियमबीचको ऐतिहासिक सहकार्यको सार्वजनिक घोषणा ३० जुन २०२५, सोमबार  साँझ १८:०० बजे लुभेन नगरपालिकाको आयोजनामा लुभेन मेयरको कार्यालयमा गरिने भएको छ। कार्यक्रममा वाकिङ डिनरको समेत व्यवस्था गरिएको छ भने सहभागी संख्या अधिकतम ५० जनासम्म सीमित रहने जानकारी प्राप्त भएको छ।

कार्यक्रममा सहभागिता जनाउन इच्छुक नेपाली व्यवसायीहरुलाई संघका सचिव श्री बाबुराम शर्मा वा अध्यक्ष श्री चिरन खवासलाई समयमै नाम दर्ता गराउन संघको कार्यसमितिले अनुरोध गरेको छ।

कयौँ पटकको बैठकपछि पुगेको यस सहकार्यमा नेपाली व्यवसायीहरुले बेल्जियममा भोगिरहेका कानुनी झमेलाहरू, भाषा सम्बन्धी चुनौतीहरू र व्यवसाय सञ्चालनका लागि आवश्यक तालिमहरूप्रति होरेका फ्लान्दरन गम्भीर बनेको देखिन्छ। सहकार्यमार्फत यस्ता समस्याहरू समाधान गर्दै व्यवसायमैत्री वातावरण तयार गर्ने सहमति भएको संघले जनाएको छ।

संघका अध्यक्ष चिरन खवासका अनुसार, “होरेका फ्लान्दरनले नेपाली व्यवसायीहरूलाई मान्यता दिनु भनेको सम्पूर्ण नेपाली समुदायका लागि गर्वको कुरा हो। संघले यस संग संगै  थुप्रै सरकारी, अर्धसरकारी र गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्दै आएको छ र क्रमबद्ध रूपमा थप कार्यक्रमहरू ल्याउने तयारीमा छ।

उक्त कार्यक्रम संघका दर्ता सदस्यहरू माझ प्रत्यक्ष जानकारी आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको भए पनि सबै सदस्यलाई समेट्न नसकिने जनाउँदै अध्यक्ष खवासले आगामी कार्यक्रमहरूमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, सेक्युरिटी रिजनको निर्देशन अनुसार पहिल्यै नाम दर्ता गरिएका व्यक्तिहरूमात्र कार्यक्रममा सहभागी गराइने स्पष्ट गरिएको छ।

कार्यक्रममा होरेका फ्लान्दरन फ्लामिस ब्राबान्त र होरेका फ्लान्दरन बेल्जियमका सीईओ Matthias De Caluwe लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ।

यो सहकार्य नेपाली व्यवसायी समुदायको हकहित र भविष्यमा थप अवसरहरूको ढोका खोल्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Leave a Reply