Home Login
प्रवास

रवि लामिछानेको समर्थनमा बेल्जियममा हस्ताक्षर अभियान

बेल्जियम — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोध साधेको भन्दै बेल्जियमका प्रवासी नेपालीले हस्ताक्षर अभियान चलाएका छन् ।

रास्वपाको तेस्रो स्थापना दिवसको अवसरमा प्रवास सम्पर्क विभाग बेल्जियमले सोमबार बेल्जियमको ल्युभेनमा बृहत सभा गरी अभियान शुभारम्भ गरेको हो ।

 प्रतिशोधविरुद्धको अभियानमा सहभागी हुन बेल्जियमका ८ प्रदेश तथा युरोपका विभिन्न देशहरुबाट नेपालीहरु भेला भएको प्रवास विभाग बेल्जियमका प्रमुख कृष्ण दाहालले बताए ।

उनका अनुसार भेलामा बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल पनि सहभागी थिइन् । यसैगरी एनआरएनएका अध्यक्ष, कांग्रेस, एमाले, माओवादीसहित दलका प्रवास संगठनका प्रतिनिधि पनि सहभागी थिए । 

उनीहरुले लामिछानेविरुद्ध राज्यले बढी नै अन्याय र अत्याचार गरेको भन्दै प्रतिशोधको राजनीतिक गर्न नहुने भनेर ऐक्यबद्धता जनाएका थिए भने राज्य सञ्चालकहरु सुध्रिनुपर्नेमा जोड दिएका थिए । ‘प्रतिशोधको राजनीति गर्नुहुन्न भन्नेमा सबै प्रवासी नेपालीको ऐक्यबद्धता छ,’ दाहाल भन्छन्, ‘प्रतिशोधविरुद्धको हस्ताक्षर अभियान युरोपभरि चलाउँछौ’ ।

भेलामा सहभागी हुन आएका रास्वपाको प्रवास विभाग अष्ट्रियाका प्रमुख विकास कार्कीका अनुसार सभापति लामिछाने माथिको राजनीतिक प्रतिशोध र सरकारको अन्याय अत्याचार विरुद्ध हस्ताक्षर अभियानका साथसाथै पछिल्लो समय विभिन्न देशमा चलिरहेको भोट हाल्न देश फर्किने अभियानबारे पनि छलफल भएको थियो । कार्कीले अष्ट्रियामा पनि हस्ताक्षर अभियान चलाइने बताए ।

बेल्जियम प्रमुख दाहालका अनुसार भेलामा चार सय बढी प्रवासी नेपाली विभिन्न देशबाट सहभागी थिए । सहभागीमध्ये अधिकांशले अभियानमा हस्ताक्षर गरेका छन् ।

Leave a Reply