आयरल्याण्ड — गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको अध्यक्षमा चेतराज ओली निर्वाचित भएका छन् ।
मंगलवार भेरो अनलाइन प्रविधिमार्फत भएको निर्वाचनमा ओलीले ६९५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी ओम अधिकारीले ६५५ मत ल्याए ।
यस्तै, अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्यमा प्रकाश सापकोटा ७५२ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी शिव थापाले ५९८ मत पाए ।
खुला उपाध्यक्षतर्फ अविशेक बोगटीले ७८१ र बल बहादुर क्षेत्रीले ७५२ मत प्राप्त गरी विजयी भए ।
अन्य उपाध्यक्षतर्फ भावदेश थापा मगरले ६१२ मत र दीपक आचार्यले ५५३ मत ल्याएर निर्वाचित भए ।
महासचिवमा प्रविन बरालले ७२१ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी सन्तोष शर्माले ६२९ मत पाए।
सचिवमा विकास पण्डित ६९१ मतसहित विजयी भए भने विजयकुमार बुढाथोकीले ६५९ मत ल्याए ।
कोषाध्यक्ष पदमा अमृत कुमार तामाङले ६९८ मत प्राप्त गरी जितेका छन् । उनका प्रतिस्पर्धी सम्राट प्रसाईले ६५२ मत ल्याए । सहकोषाध्यक्षमा राजेन्द्र न्यौपानेले ७३५ मत प्राप्त गरेर विजयी भए भने तिर्थराज कोइरालाले ६१५ मत पाए ।
युवा उपसंयोजक पदमा उज्ज्वल खड्काले ७३५ मत ल्याएर जित हासिल गरे । उनका प्रतिद्वन्द्वी निसान शर्माले ६९७ मत प्राप्त गरे । कार्यसमिति सदस्यतर्फ ज्यस्ना अधिकारी, मन कुमार राई, रेजिन कार्की, सतीश पराजुली र विवेक रिमाल विजयी भए ।
अष्ट्रेलियामा आधारित भेरो प्रविधिमार्फत सम्पन्न निर्वाचनको नतिजा निर्वाचन आयुक्त शुक्रराज न्यौपानेले सार्वजनिक गरेका थिए । यसअघि अधिवेशनलाई संघका केन्द्रीय उपाध्यक्ष डा. हेम राज शर्मा र सचिव भिमकमल केसीले सम्बोधन गरेका थिए ।