मिलान, इटाली — क्रोएसियाली फुटबलका सुपरस्टार तथा बालोन डी’ओर विजेता लुका मोड्रिचले स्पेनी क्लब रियल म्याड्रिडसँगको आफ्नो १३ वर्षे लामो र सफल यात्रालाई टुंग्याउँदै इटालियन सिरी ‘ए’ को प्रतिष्ठित क्लब एसी मिलानसँग अनुबन्धित भएका छन् । एसी मिलानले सोमबार आधिकारिक रूपमा मोड्रिचको अनुबन्धको घोषणा गरेको हो ।
लामो समयदेखि चल्दै आएको अड्कलबाजीलाई अन्त्य गर्दै ३९ वर्षीय मिडफिल्डर मोड्रिचले एसी मिलानसँग एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा आपसी सहमतिमा थप एक वर्ष नवीकरण गर्न सकिने विकल्प पनि राखिएको छ ।
रियल म्याड्रिडका लागि एक युगका पर्याय बनेका मोड्रिचले क्लबलाई ६ पटक च्याम्पियन्स लिग र ४ पटक ला लिगा लगायत अन्य थुप्रै उपाधिहरू जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनको नेतृत्वदायी क्षमता, खेल बनाउने शैली र अनुभवले रियल म्याड्रिडको मध्यपंक्ति सधैं अब्बल रह्यो । सन् २०१८ मा उनले फिफा विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्याए वापत प्रतिष्ठित बालोन डी’ओर पुरस्कार जितेका थिए ।
एसी मिलानमा मोड्रिचले १४ नम्बरको जर्सी लगाउने छन् । उनको आगमनले एसी मिलानको टोलीमा अनुभव र गुणस्तर थपिने विश्वास गरिएको छ । गत सिजन सिरी ‘ए’ मा संघर्ष गरेको एसी मिलानले मोड्रिचको आगमनसँगै नयाँ सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा राखेको छ ।
‘म एसी मिलान जस्तो ऐतिहासिक क्लबमा आउन पाउँदा निकै खुसी र उत्साहित छु,’ मोड्रिचले आफ्नो अनुबन्धपछि भने, ‘यो मेरो लागि नयाँ चुनौती हो र म क्लबलाई सफलता दिलाउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु’ ।
रियल म्याड्रिडले पनि एक भावनात्मक बिदाइ सन्देश जारी गर्दै मोड्रिचलाई क्लबका एक ‘लिजेन्ड’ को रूपमा सम्मान दिएको छ र उनको भविष्यको लागि शुभकामना व्यक्त गरेको छ । मोड्रिचको बहिर्गमनसँगै रियल म्याड्रिडको एक सफल युगको अन्त्य भएको छ भने एसी मिलानमा नयाँ अध्यायको सुरुवात भएको छ ।