Home Login
खेलकुद

गौतम बुद्ध क्रिकेट क्लबद्वारा क्रिकेट प्रतियोगिताको आयोजना हुदै

लन्डन, बेलायत — सन् २०२३ मा स्थापित गौतम बुद्ध क्रिकेट क्लबले आफ्नो स्थापनाकालदेखि नै बेलायतको नेपाली समुदायमा क्रिकेटको विकास र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ । घरेलु तथा मैत्रीपूर्ण खेलहरूमा आफ्नो बलियो उपस्थिति जनाउँदै क्लबले प्रतिष्ठित मिडलसेक्स काउन्टी लिगमा समेत सहभागिता जनाएर आफूलाई एक अब्बल टोलीको रूपमा स्थापित गर्न सफल भएको छ ।

शान्तिका प्रतीक भगवान गौतम बुद्धको नाममा स्थापित यस क्लबले खेलको माध्यमबाट नेपाली पहिचान र भाइचारालाई विदेशी भूमिमा समेत जीवन्त राख्ने प्रयास गरिरहेको छ। खेलाडीहरूले देखाएको जोश, जाँगर र खेलप्रतिको समर्पण प्रशंसनीय छ ।

यसै क्रममा, क्लबले आउँदो सेप्टेम्बर ६ तारिखका दिन एक भव्य अन्तर-क्लब क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । यसअघि गत मे महिनामा पनि क्लबले सफलतापूर्वक यस्तै प्रतियोगिता सम्पन्न गरिसकेको छ । सेप्टेम्बरमा हुने प्रतियोगिताको लागि खेलाडीहरूको लिलामी (अक्सन) हालै सम्पन्न भएको छ, जसमा ३ वटा टोलीका लागि ३६ जना खेलाडीहरू छनोट भएका छन् ।

लिलामी प्रक्रियाले प्रतियोगितामा थप उत्साह र व्यावसायिकता थपेको छ । यसले खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्नुका साथै टिम मालिकहरूलाई रणनीतिक रूपमा आफ्नो टोली निर्माण गर्ने मौका दिएको छ ।

क्लबका एक पदाधिकारीले भने, “विदेशमा रहेर पनि आफ्नो देश र समुदायलाई खेलकुदको माध्यमबाट जोड्न पाउनु हाम्रो लागि गर्वको कुरा हो । गौतम बुद्धको शान्तिको सन्देशलाई आत्मसाथ गर्दै हामीले खेल मैदानमा पनि अनुशासन र मैत्रीपूर्ण प्रतिस्पर्धालाई जोड दिएका छौँ ।”

स्थापनाको छोटो अवधिमा नै क्लबले मिडलसेक्स काउन्टी लिग जस्तो प्रतिस्पर्धात्मक प्रतियोगितामा भाग लिनुलाई एक महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ । यसले बेलायतमा रहेका नेपाली क्रिकेट खेलाडीहरूलाई आफ्नो खेल स्तरलाई निखार्न र मूलधारको क्रिकेटमा सामेल हुन महत्त्वपूर्ण मञ्च प्रदान गरेको छ ।

सेप्टेम्बरमा हुन गइरहेको प्रतियोगिताले बेलायतमा रहेका नेपाली क्रिकेट प्रेमीहरूलाई एकै ठाउँमा भेला गराउने र रोमाञ्चक खेलको आनन्द लिने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । यस प्रकारका प्रतियोगिताहरूले नयाँ पुस्तालाई क्रिकेटप्रति आकर्षित गर्न र नेपाली समुदायमा खेलकुदको संस्कृतिलाई थप बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने निश्चित छ ।

क्लबको यो निरन्तर प्रयासले बेलायतको नेपाली समुदायमा क्रिकेटप्रतिको लगावलाई नयाँ उचाइमा पुर्‍याएको छ र आगामी दिनहरूमा अझै ठूला सफलताहरू हासिल गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply