Home Login
राजदूतावास

अमेरिकी भिसाको दुरुपयोग नगर्न दूतावासको चेतावनी, उल्लंघन गरे भविष्यमा भिसा नपाइने

काठमाडौं — काठमाडौंस्थित अमेरिकी दूतावासले संयुक्त राज्य अमेरिकाको भिसा प्राप्त गरेका व्यक्तिहरूलाई आफ्नो भिसाको सही तरिकाले प्रयोग गर्न आग्रह गरेको छ ।

बुधबार सामाजिक सञ्जालमार्फत एक सूचना जारी गर्दै दूतावासले भिसाका सर्तहरूको पालना गर्नु प्रत्येक भिसा धारकको महत्त्वपूर्ण जिम्मेवारी भएको स्मरण गराएको हो ।

दूतावासले जारी गरेको सूचनामा भनिएको छ, “तपाईँको भिसालाई सही तरिकाले प्रयोग गर्नु तपाईँको जिम्मेवारी हो ।”

सूचनाअनुसार, यदि कुनै व्यक्तिले आफ्नो भिसाको अवधिभन्दा बढी समय अमेरिकामा बिताएमा वा भिसामा तोकिएका सर्तहरूको उल्लङ्घन गरेमा त्यसले गम्भीर परिणाम निम्त्याउन सक्छ । यस्तो अवस्थामा व्यक्तिले कानुनी कारबाही भोग्नुपर्ने दूतावासले स्पष्ट पारेको छ ।

दूतावासले भिसाका सर्तहरू उल्लङ्घन गर्ने व्यक्तिको भिसा रद्द हुन सक्ने चेतावनी दिएको छ । साथै, त्यस्ता व्यक्तिलाई अमेरिकाबाट निष्कासन गरिने सम्भावना रहने र भविष्यमा पुनः भिसा प्राप्त गर्न अत्यन्त कठिन हुने कुरामा पनि जोड दिइएको छ ।

यो सूचनाले अमेरिका जाने योजनामा रहेका वा भिसा प्राप्त गरिसकेका नेपालीहरूलाई आफ्नो यात्रा र बसाइलाई लिएर थप सचेत र जिम्मेवार बन्न प्रेरित गरेको छ । दूतावासले समय-समयमा भिसा सम्बन्धी नियम र सर्तहरूका बारेमा जानकारी गराउँदै आएको छ ।

Leave a Reply