Home Login
प्रवास

पोर्चुगलमा ठकुरी समाजद्वारा भव्य तीज कार्यक्रम आयोजना

पोर्चुगल – नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा ठकुरी समाज पोर्चुगलले एक विशेष साँस्कृतिक तथा दर खाने कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपाली कला, संस्कृति र परम्परालाई प्रवासमा समेत जीवन्त राख्ने उद्देश्यले आयोजना गर्न लागिएको यो कार्यक्रम आगामी अगस्ट १७ तारिख, आइतबारका दिन लिस्बनको अल्मेडास्थित महात्मा गान्धी राधा कृष्ण मन्दिरमा सम्पन्न हुनेछ ।

कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन नेपालका चर्चित कलाकारहरुलाई आमन्त्रण गरिएको छ । सुमधुर स्वरकी धनी, लोकप्रिय गायिका रचना रिमालको विशेष प्रस्तुति रहने कार्यक्रममा उहाँलाई अन्य प्रतिभाशाली कलाकारहरुले साथ दिनेछन् । कार्यक्रममा गायिका गीता रेउले, गायिका सरिता कुँवर, गायक सागर शाह तथा गायक फणीन्द्र ठकुरीको पनि बेजोड सांगीतिक प्रस्तुति रहने आयोजक ठकुरी समाज पोर्चुगलले जनाएको छ ।

बेलुकी ४ बजेदेखि सुरु भई राति १० बजेसम्म चल्ने यस कार्यक्रममा पोर्चुगलमा बसोबास गर्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ । कार्यक्रममा हरितालिका तीजको मौलिकतालाई झल्काउने गरी दर खाने कार्यक्रमका साथै विशेष सांस्कृतिक प्रस्तुतिहरु रहनेछन् ।

प्रवासको व्यस्त जीवनशैलीका बीच नेपाली पर्वहरुको महत्व र गरिमालाई कायम राख्दै आपसी भाइचारा र सद्भाव बढाउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको आयोजकले बताएको छ । यस कार्यक्रमले पोर्चुगलमा रहेका नेपाली समुदाय, विशेषगरी ठकुरी समुदायलाई एकै ठाउँमा भेला भई तीजको शुभकामना आदानप्रदान गर्ने र मनोरञ्जन गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।

चर्चित कलाकारहरुको साथमा तीजका गीतहरुमा रमाउन र दरको स्वाद लिन आयोजक समितिले पोर्चुगलमा कार्यरत सम्पूर्ण नेपाली संघसंस्था, बुद्धिजीवी, व्यवसायी, पत्रकार तथा सर्वसाधारण नेपालीहरुलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि अनुरोध गरेको छ ।

(आयोजक ठकुरी समाज पोर्चुगलले सार्वजनिक गरेको उक्त कार्यक्रमको पोस्टर)

 

Leave a Reply