Home Login
मनोरंजन

पोर्चुगलमा तीज विशेष कार्यक्रम अगस्ट २४ तारिख मार्तिज मुनिज पार्कमा आयोजना हुने

पोर्चुगल — पोर्चुगलमा रहेका नेपाली नारीहरूको साझा संस्था, नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले आउँदै गरेको हरितालिका तिजको अवसरमा एक विशेष साँस्कृतिक कार्यक्रम “तिज धमाका” को आयोजना गर्ने भएको छ । नेपाली समुदायको बाक्लो उपस्थिति रहेको लिस्बनको मुटु मानिने मार्तिम मुनिज पार्कमा यही अगष्ट २४ तारिख, आइतबारका दिन यो भव्य कार्यक्रम सम्पन्न हुने संस्थाकी अध्यक्ष शान्ति अर्याल अधिकारीले जानकारी दिनुभएको छ ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूको माइतीको भूमिका निर्वाह गर्ने उद्देश्यले एशोसिएसनले कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रममा नेपालबाट आमन्त्रित ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ, जसले परदेशमा रहेका नेपालीहरूलाई छमछमी नचाउने अपेक्षा गरिएको छ ।

कार्यक्रमका प्रमुख आकर्षणका रूपमा “रोईला किङ्” को उपनामले चर्चित लोकप्रिय गायक शिरीष देवकोटा रहनुभएको छ । उहाँका साथमा चर्चित लोकदोहोरी गायिकाहरू कला पंगेनी र गीता रेउले समेत सांगीतिक प्रस्तुति दिने भएका हुन् । उहाँहरूको तिज विशेष प्रस्तुतिले कार्यक्रममा रौनक थप्ने विश्वास लिइएको छ ।

(आयोजक नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले सार्वजनिक गरेको उक्त कार्यक्रमको पोस्टर)

अध्यक्ष अधिकारीले पोर्चुगलवासी सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हरितालिका तिजको शुभकामना व्यक्त गर्दै कार्यक्रममा सहभागी भई दिन हार्दिक निमन्त्रणा गर्नुभएको छ । “बिदाको दिन पारेर आयोजना गरिएको यस कार्यक्रममा समयमै उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गर्दछौं,” उहाँले भन्नुभयो, “यो हामी सबैको साझा कार्यक्रम हो ।”

साथै, अध्यक्ष अधिकारीले नारीहरूले नै आयोजना गरेको यस कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन पोर्चुगलमा स्थापित सम्पूर्ण संघ-संस्था, व्यवसायीहरू तथा नेपाली समुदायका हरेक सदस्यलाई सहयोगको लागि अपिल गर्नुभएको छ ।

कार्यक्रमको गरिमा र महत्वलाई ध्यानमा राख्दै उक्त दिन अन्य कुनै कार्यक्रम नजुधाइदिन समेत उहाँले आग्रह गर्नुभएको छ ।

यो कार्यक्रमले पोर्चुगलमा रहेका नेपालीहरूलाई आफ्नो संस्कृतिसँग जोड्ने र आपसी भाइचारा एवं सद्भाव बढाउने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ । मार्तिम मुनिज पार्कमा आयोजना हुने “तिज धमाका” ले नेपाली मौलिकता र सांस्कृतिक उल्लासलाई जीवन्त बनाउने आयोजकको दाबी छ ।

Leave a Reply