Home Login
प्रवास

चर्चित गायिका शान्ति श्री परियार पोल्याण्डमा

पोल्याण्ड नेपाली लोक संगीतकी चर्चित गायिका शान्ति श्री परियार आफ्नो युरोप भ्रमणको क्रममा पोल्याण्ड आइपुगेकी छिन् । मगर संघ पोल्याण्डको आयोजनामा हुन लागेको “शान्ति श्री परियार सांस्कृतिक साँझ २०२५” का लागि उनी यहाँ आइपुगेकी हुन् ।

कार्यक्रम यही आउँदो अगस्ट १५ तारिखका दिन पोल्याण्डको प्रमुख शहर लोड्जमा अवस्थित होटल रुबिनमा भव्यताका साथ आयोजना हुने भएको छ ।

गायिका परियारले आफ्नो युरोप टुर अन्तर्गत यसअघि माल्टा र रोमानियामा सफल सांगीतिक प्रस्तुति दिइसकेकी छिन् । तीजको अवसर पारेर युरोपमा रहेका नेपाली दर्शकमाझ आफ्नो सांगीतिक कोसेली पस्कन लागेकी परियार पछिल्लो समय स्वदेश तथा विदेशका मेला महोत्सवमा निकै व्यस्त रहँदै आएकी छिन् ।

“नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया र प्रवर्द्धन गरौँ” भन्ने मूल नाराका साथ गुरुङ के.एन.एस इन्टरटेनमेन्ट र मामा इभेन्ट्सले यो सिंगो युरोप टुरको आयोजना गरेका हुन् । केन्द्र मोशन पिक्चर्स कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा रहेको छ ।

आयोजक संस्था गुरुङ के.एन.एस इन्टरटेनमेन्ट र मामा इभेन्ट्सले विगत लामो समयदेखि युरोपमा नेपाली चलचित्र प्रदर्शन तथा विभिन्न सांगीतिक कार्यक्रमहरू आयोजना गर्दै आएका छन् ।

आयोजकका अनुसार, पोल्याण्डको कार्यक्रम पश्चात गायिका परियारको सांगीतिक यात्रा युरोपका अन्य देशहरुमा पनि जारी रहनेछ । उनको आगामी कार्यक्रमको तालिका क्रमश : अगस्ट १६ मा ह्याम्बर्ग, जर्मनी, अगस्ट १७ मा पेरिस, फ्रान्स, अगस्ट १८ मा एम्स्टर्डम, नेदरल्याण्ड, अगस्ट २० मा ब्रुग, बेल्जियम, अगस्ट २३ मा स्टकहोम, स्वीडेन, अगस्ट २४ मा गोथेनबर्ग, स्वीडेन, अगस्ट २५ मा एन्टवर्प, बेल्जियम, अगस्ट २८ मा हेलसिंकी, फिनल्याण्ड र अगस्ट ३० मा एथेन्स, ग्रीसमा रहेको छ ।

गुरुङ के.एन.एस इन्टरटेनमेन्टका सञ्चालक किरण गुरुङले युरोपाटीसँग कुरा गर्दै यस कार्यक्रमले युरोपमा बसोबास गर्ने नेपालीहरूलाई नेपाली कला, संस्कृति र संगीतसँग जोड्ने विश्वास लिएको बताउनुभयो ।

पोल्याण्डमा आयोजक मगर संघले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यस कार्यक्रमले युरोपमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा भेला गराई आफ्नो संस्कृतिसँग जोड्ने र गायिका परियारको सुमधुर स्वरमा रमाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

(गायिका शान्ति श्री परियारको ‘युरोप टुर’ अन्तर्गत कार्यक्रमको तालिका)

Leave a Reply