क्यानडा — क्यानडाको टोरन्टोमा १७औँ हिमालयन मेला सम्पन्न भएको छ । कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्याल प्रमुख अतिथिको रूपमा उपस्थित थिए । प्रमुख अतिथि राजदुत पौडेलले यस्ता कार्यक्रमहरुले प्रवासमा नेपाली समुदायलाई एकतावद्ध बनाउने र दोश्रो पुस्तालाई नेपाल र नेपाली संस्कृति परम्पराका बारेमा जानकारी गराउन मद्दत पुग्नुका साथै नेपालको पर्यटकीय प्रर्वद्धनमा सहयोग पुग्ने बताउनु भयो । साथै, प्रिमियर डग फोर्ड, टोरन्टोकी मेयर ओलिभिया चौ र सांसद सोनिया सिधुले बधाई सन्देशमार्फत नेपाली समुदायप्रति शुभकामना व्यक्त गरेका थिए। यस अवसरमा नेपालिज क्यानडियन कम्युनिटी सर्भिसेसले आफ्नो २५ औँ वार्षिकोत्सव पनि मनाएको थियो ।
मेलामा एनआरएन क्यानडाका अध्यक्ष जगन सापकोटा, ग्लोबल एनआरएनका सहकोषाध्यक्ष अभिमन्यु बस्नेत, ओन्टारियो प्रान्तीय सांसद डोली बेगम, टोरन्टो सिटी काउन्सिलर पार्थी कन्देवललगायतका सम्माननीय अतिथिहरूको उपस्थिति थियो । कार्यक्रमको औपचारिक उद्घाटन एनसिसिएसकी अध्यक्ष बिना बर्माले स्वागत मन्तव्य गरिन् । विशेष अतिथि कलाकारहरू हरि कर्माचार्य, अञ्जना गुरुङ र कनैयासिंह परियारले आफ्नो मनमोहक सांगीतिक प्रस्तुतिमार्फत माहोललाई झन् रंगीन बनाएका थिए ।
कार्यक्रममा १७ वटा सांस्कृतिक प्रस्तुतिहरू र ३ वटा ब्यान्डहरूको बेजोड प्रस्तुति रहेको थियो । साथै, १५ भन्दा बढी संघ–संस्थाहरूले सांस्कृतिक पोसाकमा सहभागी भई सामुदायिक परेडमा भाग लिँदै विविधतापूर्ण सांस्कृतिक पहिचान प्रस्तुत गरेका थिए ।
एनसिसिएसका महासचिव सुदर्शन सापकोटाले समुदायमा देखाएको समर्पण, नेतृत्व र प्रेरणादायी योगदानको सम्मानस्वरूप प्रतिष्ठित पहिलो ‘प्रेसिडेन्ट अवार्ड’ प्राप्त गरे । हिमालयन मेलालाई केवल सांस्कृतिक उत्सवको रूपमा मात्र नभई, क्यानडाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको साझा पहिचानलाई मजबुत बनाउने महत्त्वपूर्ण अवसरको रूपमा पनि लिइएको छ ।
मेलाको सफलता निरन्तरता कायम राख्न एनसिसिएसले आगामी वर्षहरूमा अझ प्रभावकारी योजना, सहयोगी समन्वय र व्यापक समुदाय सहभागितामा जोड दिने प्रतिबद्धता जनाएको छ । कार्यक्रमको औपचारिक सञ्चालन महासचिव सुदर्शन सापकोटा र स्वीकृति घिमिरेले गरेका थिए भने सांस्कृतिक प्रस्तुतिको सञ्चालन विधान कार्की, सृष्टि श्रेष्ठ अमात्य, यारिका कार्की र देवेन्द्र अधिकारीले एमसीका रूपमा गरेका थिए ।
हेर्नुस् कार्यक्रमको तस्बिरहरू :