म्याड्रिड, स्पेन — स्पेनको राजधानी म्याड्रिडमा अवस्थित नेपाली राजदूतावास आउँदो शुक्रबार, अर्थात् २०८२ साल साउन ३० गते (१५ अगस्ट २०२५) बन्द हुने भएको छ ।
स्पेनमा मनाइने ‘डिया डे ला असुन्सियन डे ला भिरहेन’ (Dia de la Asunción de la Virgen) पर्वको अवसरमा सार्वजनिक बिदा परेकाले दूतावास बन्द रहने निर्णय भएको हो । दूतावासले बिहीबार एक औपचारिक सूचना प्रकाशित गरी उक्त दिन कन्सुलर सेवा लगायत अन्य सबै कामकारबाहीहरू पूर्ण रूपमा बन्द रहने जानकारी गराएको छ ।
प्रकाशित सूचना अनुसार, शुक्रबार राहदानी नवीकरण, भिसा प्रक्रिया, कागजात प्रमाणीकरण, अधिकृत वारेशनामा लगायतका सम्पूर्ण कन्सुलर सेवाहरू प्रवाह हुने छैनन् । दूतावासले स्पेनमा बसोबास गर्ने नेपाली समुदायलाई सोही अनुसार आफ्नो योजना बनाउन र अत्यावश्यक बाहेकका काम लिएर दूतावासमा उपस्थित नहुन अनुरोध गरेको छ ।
‘डिया डे ला असुन्सियन’ स्पेनभर मनाइने एक प्रमुख राष्ट्रिय पर्व हो, जुन इसाई धर्मावलम्बीहरूले भर्जिन मेरीको स्वर्गारोहणको दिनको रूपमा मनाउँछन् । यो दिन देशैभरिका सरकारी तथा निजी कार्यालयहरूमा सार्वजनिक बिदा दिइन्छ ।
शुक्रबारको सार्वजनिक बिदापछि शनिबार र आइतबार नियमित साप्ताहिक बिदा पर्ने भएकाले दूतावासका सेवाहरू अब अर्को हप्ताको सोमबार, अर्थात् २०८२ साल भदौ २ गते (१८ अगस्ट २०२५) देखि मात्र पुनः सञ्चालनमा आउनेछन् ।
दूतावासले सेवाग्राहीहरूलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहेको जनाउँदै, कुनै पनि अद्यावधिक जानकारीका लागि दूतावासको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा ध्यान दिन पनि आग्रह गरेको छ ।