जेरुसेलम — हमासको अपहरणमा परेका नेपाली विद्यार्थी बिपिन जोशीको शीघ्र रिहाइका लागि पहल गर्न उनको परिवार र नेपाली राजदूतले आज इजरायलका सर्वोच्च नेतृत्वसँग भेटवार्ता गरेका छन् । ७ अक्टोबर २०२३ देखि हमासको बन्धकका रूपमा रहेका बिपिनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले नेपाली राजदूत धन प्रसाद पण्डितका साथ इजरायलका राष्ट्रपति आइज्याक हर्जोग (H.E. Mr. Isaac Herzog) सँग भेट गरी आफ्नो छोरा र दाजुको जीवन रक्षाका लागि भावुक अपिल गरेका छन् ।
आज जेरुसेलमस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा आमा पदमा जोशीले राष्ट्रपति हर्जोगसमक्ष आफ्नो छोराको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनको शीघ्र रिहाइका लागि इजरायली सरकारको तर्फबाट ठोस पहल गरिदिन हार्दिक अनुरोध गर्नुभयो । आँखाभरी आँसुसहित उनले भनिन्, “मेरो छोरो निर्दोष छ, उसलाई छिटोभन्दा छिटो घर फर्काइदिनुहोस् ।”
त्यसैगरी, बिपिनकी बहिनी पुष्पा जोशीले आफ्नो दाजु एक विद्यार्थीको रूपमा सुन्दर भविष्यको सपना बोकेर इजरायल आएको तर अकल्पनीय घटनाको शिकार भएको बताउनुभयो । उनले भनिन्, “मेरो दाजु एक निर्दोष विद्यार्थी हुनुहुन्छ । उहाँको अपहरणले हाम्रो परिवारलाई असह्य पीडा दिएको छ। उहाँलाई हमासको बन्धकबाट मुक्त गराउन हरसम्भव प्रयास गरिदिनुहुन म विनम्र अपिल गर्दछु ।”
भेटवार्तामा नेपाली राजदूत धन प्रसाद पण्डितले बिपिन जोशीको स्थितिको बारेमा यथार्थ जानकारी गराउन र उनको रिहाइका लागि विभिन्न माध्यमबाट थप पहल गर्न इजरायली सरकारलाई विशेष अनुरोध गर्नुभयो ।
इजरायलको उच्चस्तरीय प्रतिबद्धता, नेपाललाई पनि कूटनीतिक पहल गर्न सुझाव
जवाफमा राष्ट्रपति हर्जोगले जोशी परिवारको पीडाप्रति गहिरो समानुभूति प्रकट गर्दै बिपिन जोशीको विषय इजरायलका लागि नौलो नभएको र उनलाई आफ्नै नागरिक सरह मानेर रिहाइको प्रयास भइरहेको बताउनुभयो । “नेपाल इजरायलको एक असल मित्र हो । एक मित्र राष्ट्रको निर्दोष नागरिक हाम्रो भूमिबाट अपहरणमा पर्नु दुःखद हो । बिपिनको रिहाइका लागि म र मेरो सरकार निरन्तर प्रयासरत छौं,” राष्ट्रपति हर्जोगले भन्नुभयो ।
उहाँले इजरायली सरकारले आफ्नो तर्फबाट भरमग्दुर प्रयास गरिरहेको अवस्थामा यदि नेपाल सरकारले पनि कूटनीतिक माध्यमबाट सम्बन्धित अरब देशहरूसँग वार्ता गर्न सके बिपिनको रिहाइमा थप बल पुग्ने वा उनको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन सक्ने महत्वपूर्ण सुझाव दिनुभयो ।
संसद अध्यक्षसँग पनि भेट, सम्बन्ध थप कसिलो भएको भनाइ
यसै क्रममा आजै जोशी परिवार र राजदूत पण्डितले इजरायली संसद (नेसेट) का अध्यक्ष आमिर ओहाना (H.E. Mr. Amir Ohana) सँग पनि भेटवार्ता गर्नुभयो । सो अवसरमा अध्यक्ष ओहानाले बिपिन जोशीको विषयमा इजरायली सरकार निकै चिन्तित र संवेदनशील रहेको बताउनुभयो । “बिपिनको खोजी कार्य जारी छ । यो दुःखद घटनाले हाम्रो नेपाल-इजरायल बीचको न्यानो र मित्रवत् सम्बन्धलाई थप कसिलो बनाएको छ,” उहाँले भन्नुभयो ।
अध्यक्ष ओहानाले बिपिन लगायत सबै बन्धकहरूको रिहाइका लागि इजरायलले जोडदार पहल गरिरहेको जानकारी दिँदै हालै जेनेभामा आफ्ना नेपाली समकक्षी (सभामुख) सँग भएको भेटमा पनि बिपिनको रिहाइबारे छलफल भएको र दुवै देशका सरकार यस विषयमा निरन्तर सम्पर्कमा रहेको स्मरण गराउनुभयो ।
बिपिन जोशीको परिवार उनको रिहाइको पहलका लागि विभिन्न सरकारी तथा गैर-सरकारी निकायहरू र मानवअधिकारवादी संस्थाहरूसँग भेटघाट गर्न इजरायलमा छन् । आजका उच्चस्तरीय भेटघाटहरूले बिपिनको रिहाइको प्रयासमा नयाँ आशा जगाएको छ ।