Home Login
संघ-संस्था

पोर्चुगलमा सुदूरपश्चिमेली समुदायले तीज र गौरा पर्व मनाउँदै, मौलिक संस्कृति संरक्षणमा जोड

पोर्चुगल (लिस्बन) — विश्वको जुनसुकै कुनामा रहे पनि आफ्नो मौलिक कला, संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यका साथ पोर्चुगलमा बसोबास गर्दै आएका सुदूरपश्चिमेली नेपालीहरूले नारीहरूको महान पर्व हरितालिका तीज र आफ्नो विशेष मौलिक पर्व गौराको अवसरमा एक विशेष कार्यक्रम आयोजना गर्ने भएका छन् ।

आगामी शनिबार, २३ अगस्ट २०२५ का दिन लिस्बनमा आयोजना हुने उक्त कार्यक्रममा तीजको दर खाने तथा गौरा पर्वको शुभकामना आदानप्रदान गरिनेछ । “हामी विश्वको जुनसुकै कुनामा भएपनि हाम्रो मौलिक कला संस्कृति, पहिचान, सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नु हाम्रो कर्तव्य हो,” आयोजकहरूद्वारा जारी निमन्त्रणामा भनिएको छ ।

यो कार्यक्रम सुदूरपश्चिम प्रदेशलाई आफ्नो मूल घर मानी हाल पोर्चुगलमा बसोबास गरिरहेका सम्पूर्ण सुदूरपश्चिमेलीहरूलाई एउटै छातामुनि गोलबद्ध गर्ने र आफ्नो सांस्कृतिक धरोहरलाई जीवन्त राख्ने प्रयासको एक हिस्सा हो । विदेशमा रहेर पनि आफ्नो समुदायबीच एकता, भाइचारा र सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

कार्यक्रममा सहभागी भई दिनका लागि पोर्चुगलमा रहनुभएका सम्पूर्ण सुदूरपश्चिमेली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गरिएको छ । आफ्नो परिवार, साथीभाइ र आत्मीयजनसहित उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाउन सहयोग गर्न पनि आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रम नमस्ते करी हाउस (Namaste Curry House), R. Agostinho Lourenço 339, 1000-011 Lisboa मा दिउँसो ४ बजेदेखि राति ११ बजेसम्म हुने आयोजकले जानकारी गराएको छ ।

नारीहरूको महान पर्व तीजले पारिवारिक सुख, शान्ति र श्रीमानको दीर्घायुको कामनाको प्रतीकको रूपमा विशेष महत्व राख्दछ भने गौरा पर्व सुदूरपश्चिम क्षेत्रको सबैभन्दा ठूलो र विशिष्ट पहिचान बोकेको पर्व हो । यी दुवै पर्वलाई एकसाथ मनाएर पोर्चुगलमा रहेका सुदूरपश्चिमेलीहरूले आफ्नो मौलिकतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न र अन्तर्राष्ट्रिय समुदायमा आफ्नो छुट्टै सांस्कृतिक पहिचान स्थापित गर्न खोजेका छन् ।

(आयोजकले सार्वजनिक गरेको उक्त कार्यक्रमको पोस्टर)

Leave a Reply