न्युजिल्याण्ड — नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोल मेसिनका उपनामले परिचित सावित्रा भण्डारी ‘साम्बा’ यही सेप्टेम्बर २ मा न्युजिल्याण्डको अकल्याण्डमा अवतरण गर्ने भएकी छन् । अष्ट्रेलियन ‘ए-लिग’ क्लब वेलिङ्टन फिनिक्ससँग अनुबन्धित भएपछि आफ्नो नयाँ व्यावसायिक यात्राका लागि न्युजिल्याण्ड पुग्न लागेकी साम्बालाई त्यहाँस्थित नेपाली क्लबहरू र नेपाली महावाणिज्य दूतावासले भव्य स्वागतको तयारी गरेका छन् ।
नेपाली फुटबल इतिहासकै एक सफल खेलाडीका रूपमा स्थापित साम्बाको न्युजिल्याण्ड आगमनलाई लिएर त्यहाँ बसोबास गर्ने नेपाली समुदायमाझ ठूलो उत्साह छाएको छ । उनको स्वागत तथा सम्मानमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । न्युजिल्याण्डस्थित नेपाली महावाणिज्य दूतावासले स्थानीय नेपाली क्लबहरूसँगको सहकार्यमा साम्बाको स्वागत कार्यक्रमलाई अविस्मरणीय बनाउने योजना बनाएको हो ।
अकल्याण्ड विमानस्थलमा उनको स्वागतका लागि नेपाली समुदायका प्रतिनिधिहरू, खेलप्रेमी तथा महावाणिज्य दूतावासका पदाधिकारीहरू उपस्थित हुनेछन् ।
सावित्रा भण्डारीले न्युजिल्याण्डको एकमात्र व्यावसायिक फुटबल क्लब वेलिङ्टन फिनिक्ससँग दुई सिजनका लागि सम्झौता गरेकी हुन् । यो क्लब अष्ट्रेलियाको शीर्ष महिला लिग, ‘ए-लिग’ मा प्रतिस्पर्धा गर्दछ । युरोपको प्रतिष्ठित फ्रान्सेली लिग खेलेर अनुभव बटुलिसकेकी साम्बाका लागि यो अर्को महत्वपूर्ण व्यावसायिक फड्को हो । उनको यो यात्राले नेपाली महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुऱ्याएको छ ।
न्युजिल्याण्डका लागि नेपालका अवैतनिक महावाणिज्यदूत दिनेश खडकाले साम्बाको आगमन राष्ट्रकै लागि गौरवको विषय भएको बताउनुभएको छ । उहाँले साम्बाको व्यावसायिक सफलताले न्युजिल्याण्डमा रहेका नेपालीहरूलाई गौरवान्वित तुल्याएको र उनको स्वागतका लागि समुदायस्तरबाटै उत्साहजनक तयारी भइरहेको जानकारी दिनुभयो । महावाणिज्य दूतावासले वेलिङ्टन फिनिक्स क्लबसँगको समन्वयमा साम्बा र नेपाली समुदायबीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गर्ने तयारी गरेको छ ।
आगामी नोभेम्बरबाट सुरु हुने ‘ए-लिग’ सिजनको तयारीका लागि साम्बा सेप्टेम्बरको सुरुवातमा नै क्लबमा सामेल हुन लागेकी हुन् । उनको आगमनले न्युजिल्याण्ड र अष्ट्रेलियामा रहेका नेपाली खेलप्रेमीहरूलाई घरेलु लिगमा नेपाली खेलाडीको प्रदर्शन हेर्ने अवसर प्रदान गर्नेछ । साम्बाको यो ऐतिहासिक यात्राले भविष्यमा अन्य नेपाली खेलाडीहरूका लागि पनि अन्तर्राष्ट्रिय व्यावसायिक फुटबलको ढोका खोल्न मद्दत पुग्ने विश्वास गरिएको छ ।