साउदी अरेबिया (रियाद) — पोर्चुगलका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो अद्भूत करियरमा अर्को ऐतिहासिक कोसेढुङ्गा पार गरेका छन् । उनी व्यावसायिक फुटबलको इतिहासमा चार फरक क्लब र आफ्नो राष्ट्रिय टोलीका लागि १ सय भन्दा बढी गोल गर्ने पहिलो र एकमात्र खेलाडी बन्न सफल भएका छन् ।
साउदी प्रो लिगमा अल-नासरका लागि खेल्दै उनले यो दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । यो उपलब्धिले उनको गोल गर्ने क्षमता, निरन्तरता र विश्व फुटबलमा उनको प्रभावलाई प्रमाणित गरेको छ ।
रोनाल्डोको ऐतिहासिक १ सय गोलको यात्रा :
रियल म्याड्रिड : आफ्नो करियरको शिखरमा रहँदा रोनाल्डोले स्पेनिस महारथी रियल म्याड्रिडका लागि ४ सय ३८ खेलमा ४सय ५० गोलको अविश्वसनीय कीर्तिमान बनाए । उनी क्लबका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् ।
म्यानचेस्टर युनाइटेड : इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा दुई फरक कार्यकालमा उनले कुल १ सय ४५ गोल गरे र विश्व फुटबलमा आफ्नो पहिचान स्थापित गरे ।
युभेन्टस : इटालियन सिरी ‘ए’ क्लब युभेन्टसका लागि खेल्दै उनले १ सय ३४ खेलमा १ सय १ गोल गर्दै आफ्नो गोलको कलालाई निरन्तरता दिए ।
अल-नासर : सन् २०२३ मा साउदी क्लब अल-नासरमा आबद्ध भएपछि पनि उनको गोल गर्ने भोक कम भएको छैन । उनले यहाँ पनि १ सय गोलको आँकडा पार गर्दै नयाँ इतिहास रचेका छन् ।
पोर्चुगल राष्ट्रिय टोली : अन्तर्राष्ट्रिय फुटबलमा पनि रोनाल्डोको दबदबा उस्तै छ । उनले पोर्चुगलका लागि २ सय भन्दा बढी खेल खेल्दै १ सय २८ भन्दा बढी गोल गरिसकेका छन्, जसले उनलाई पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनाएको छ ।
यो अभूतपूर्व सफलताले क्रिस्टियानो रोनाल्डोलाई फुटबल इतिहासकै एक महान खेलाडीको रूपमा स्थापित गरेको छ । ३९ वर्षको उमेरमा पनि उनको लगाव, मेहनत र मैदानमा प्रदर्शन गर्ने शैलीले विश्वभरका करोडौँ फुटबल प्रेमी र युवा खेलाडीहरूलाई प्रेरित गरिरहेको छ । यो कीर्तिमानले भविष्यमा तोड्न अत्यन्तै कठिन हुने निश्चित छ ।