पोर्चुगल (लिस्बन) — नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा, नेप्लिज वोमन एसोशियसन पोर्चुगलले आयोजना गरेको “तीज विशेष कार्यक्रम” यहाँस्थित मार्तिम मुनिज पार्कमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायक शिरीष देवकोटाको प्रस्तुतिमा दर्शकहरूले भरपुर मनोरञ्जन लिएका थिए ।
आइतबार आयोजित उक्त कार्यक्रममा पोर्चुगलमा रहेका नेपाली महिला तथा पुरुषहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई थप आकर्षक बनाउन लोकगायिका गीता रेउले, कला पंगेनी लगायतका स्थानीय कलाकारहरूले पनि आ-आफ्नो बेजोड प्रस्तुति दिएका थिए । कलाकारहरूको गीतमा नेपाली दिदीबहिनीहरू मात्र नभई, कार्यक्रममा उपस्थित विदेशी नागरिकहरू समेत कम्मर मर्काई-मर्काई नाचेको दृश्यले कार्यक्रममा बहुसांस्कृतिक र अन्तर्राष्ट्रिय रंग थपेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि, लिस्बनस्थित नेपाली राजदूतावासका राजदूत प्रकाशमणि पौडेलले विदेशमा रहेर पनि आफ्नो संस्कृति र परम्परालाई जीवन्त राख्न नेप्लिज वोमन एसोशियसनले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले नेपाली समुदायबीच एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने बताउनुभयो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका अध्यक्ष बमबहादुर जीसी, एनआरएनए युरोपका डीआरसी रोबोट लिम्बु, एनआरएनए आईसीसी सदस्य राजकुमार थापा, नेपाल जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार मगर, दाङ स्पोर्ट क्लबका अध्यक्ष शिवसागर बुढाथोकी, ठकुरी समाजका अध्यक्ष सज्जन हमाल, गुल्मी समाज पोर्चुगलकी अध्यक्ष माया खरेल, प्रवासी नेपाली मञ्चका अध्यक्ष दिपक खत्री लगायत पोर्चुगलस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।
संस्थाकी अध्यक्ष शान्ति अर्याल अधिकारीले कार्यक्रमलाई सफल बनाउन उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “आज यहाँ देख्नुभएको दर्शकहरूको उल्लेख्य उपस्थिति हाम्रो लागि ठूलो हौसला हो । पोर्चुगलमा नेपाली कला, संस्कृति र परम्परालाई उच्च स्थानमा पुर्याउन हाम्रो संस्था सधैं कटिबद्ध रहनेछ ।” उहाँले प्रवासमा रहेका नेपाली दिदीबहिनीहरूलाई माइतीको अभाव महसुस हुन नदिन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी नेपाली समुदायले तीजको दर खाँदै, नाचगान गर्दै एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए । विदेशको व्यस्त जीवनशैलीका बीच पनि आफ्नो मौलिक पर्वलाई यसरी भव्यताका साथ मनाउन पाएकोमा सहभागीहरूले खुशी व्यक्त गरे ।