बेलायत — अमेरिकाले अवैध आप्रवासीका लागि कडा नीति अपनाएलगत्तै बेलायतले पनि अवैध आप्रवासन रोक्न नयाँ योजना ल्याउने तयारी थालेको छ ।
बेलायती प्रधानमन्त्री किएर स्टार्मरले डिजिटल आईडीसम्बन्धी नयाँ योजना ल्याउने घोषणा गर्नुभएको छ । जसले अवैध रूपमा काम गर्नेलाई कठिन बनाउने र देशको सीमालाई अझ सुरक्षित बनाउने उहाँको दाबी छ ।
प्रधानमन्त्री स्टार्मरले लेबर पार्टीसहित धेरै वामपन्थी दलहरूले अवैध आप्रवासनसम्बन्धी जनचासोलाई सम्बोधन गर्न नसकेकाले अब यसको समाधान गरिने बताउनुभएको हो ।
नयाँ प्रस्तावअनुसार, बेलायतमा नयाँ रोजगारी सुरु गर्नेलाई डिजिटल आईडी देखाउनुपर्नेछ । यो डिजिटल आईडी एक सरकारी स्कीम अन्तर्गत हुनेछ । जसले बेलायतमा बस्ने र काम गर्ने अधिकार भएका व्यक्तिमाथि निगरानी राख्न सजिलो बनाउनेछ ।
कुनै व्यक्तिले नयाँ रोजगारी सुरु गरे वा कोठा भाडामा लिएमा उसले आफ्नो मोबाइल फोनमा यो डिजिटल आईडी देखाउनु पर्नेछ ।
कन्जरभेटिभ पार्टीकी नेतृ केमी बेडेनोकले भने यसलाई हताशमा गरिएको निर्णय भन्नुभएको छ । त्यस्तै, लिबरल डेमोक्र्याट्सले भने यो योजनाले मानिसहरूमा आफ्नो व्यक्तिगत डेटा लुकाउन बाध्य पार्न सक्ने डर रहेको बताएका छन् ।
हुन त यो योजना कार्यान्वयन गर्न नयाँ कानुन बनाउनु पर्नेछ । त्यसका लागि विस्तृत छलफल आवश्यक हुने प्रधानमन्त्री स्टार्मरले बताउनुभएको छ । उहाँले डिजिटल आईडी नहुँदा वा स्मार्टफोन तथा पासपोर्ट नभएका मानिसलाई आफ्ना अधिकारबाट वञ्चित नगराइने पनि स्पष्ट पार्नुभएको छ ।