पोर्चुगल (लिस्बन) — पोर्चुगलमा बसोबास गर्ने नेपाली नागरिकहरूका लागि लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउन र नवीकरण गर्नका लागि अनलाइन आवेदन खुला गरेको छ । दूतावासले एक महत्त्वपूर्ण सूचना जारी गर्दै आगामी अक्टोबर २१ देखि ३१, २०२५ सम्मको अवधिका लागि राहदानी आवेदन खुला गरिएको जानकारी दिएको हो ।
राहदानीको म्याद सकिन ६ महिना वा सोभन्दा कम अवधि बाँकी रहेका सेवाग्राहीहरूलाई लक्षित गरी यो सूचना जारी गरिएको हो । दूतावासका अनुसार, तोकिएको अवधिका लागि अनलाइन अपोइन्टमेन्ट आज, अक्टोबर १०, साँझ ५ बजेदेखि खुला गरिएको छ ।
आवेदन प्रक्रिया र आवश्यक कागजातहरू
राहदानीका लागि आवेदन दिन चाहने व्यक्तिहरूले राहदानी विभागको आधिकारिक वेबसाइट https://emrtds.nepalpassport.gov.np/ मा गएर अनलाइन फाराम भर्नुपर्नेछ । फाराम भरिसकेपछि आवेदकले आफ्नो अनुकूलताअनुसार उपलब्ध मिति र समय छनोट गरी वायोमेट्रिक्सका लागि अपोइन्टमेन्ट बुक गर्न सक्नेछन् ।
आवेदकहरूले अपोइन्टमेन्ट लिएको दिन र समयमा दूतावासको कार्यालयमा निम्न कागजातहरू अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ : वयस्क आवेदकका लागि :
– अनलाइन भरेको राहदानी आवेदन फारामको प्रिन्ट-आउट ।
– सक्कल नेपाली नागरिकताको प्रमाणपत्र र त्यसको प्रतिलिपि ।
– आवेदकको सक्कल राहदानी र त्यसको प्रतिलिपि ।
नाबालक (१८ वर्ष मुनिका) आवेदकका लागि थप कागजातहरू :
– नाबालक परिचयपत्र ।
– नेपालमा दर्ता भएको जन्मदर्ता प्रमाणपत्र ।
– बुबा र आमा दुवैको नागरिकता प्रमाणपत्र र राहदानीको सक्कल तथा प्रतिलिपिहरू ।
– बुबा र आमाको विवाह दर्ता प्रमाणपत्र ।
राहदानी आवेदनका लागि अपोइन्टमेन्टहरू सीमित संख्यामा र निश्चित समयमा मात्र खुला गरिने हुँदा तत्काल अपोइन्टमेन्ट बुक गर्न नसक्ने आवेदकहरूलाई धैर्यताका साथ प्रतीक्षा गर्न र पुन: प्रयास गर्न दूतावासले अनुरोध गरेको छ । राहदानी आवेदनसम्बन्धी थप र विस्तृत जानकारीका लागि दूतावासको आधिकारिक वेबसाइट https://pt.nepalembassy.gov.np/pages/passport-service-4/ हेर्न सकिनेछ ।