जसमान दर्नाल जीवन ।
जाग्रेब — पछिल्लो समय नेपाली श्रमिकका लागि युरोप आकर्षक गन्तव्य बन्दै गर्दा, युरोप छिर्ने ‘ट्रान्जिट पोइन्ट’ मानिने क्रोएसियामा हजारौं नेपालीहरू राहदानी (पासपोर्ट) सम्बन्धी गम्भीर समस्यामा फसेका छन् । राहदानी नविकरण गरेर पनि नेपाल सरकारको अस्ट्रियास्थित भियना दूतावासले सहज रूपमा उपलब्ध नगराउँदा हजारौं नेपालीले सास्ती झेल्नुपरेको छ ।
यसकै कारण कयौंले आफ्नो रोजगारी गुमाएका छन् भने दर्जनौं नेपालीहरू क्रोएसियाको अध्यागमन विभागको कारबाहीमा पर्दै देश निकाला (डिपोर्ट) हुन बाध्य भएका छन् । क्रोएसियामा हाल अनुमानित ३० हजारको हाराहारीमा नेपाली रहेकोमा ठूलो संख्या राहदानी समस्याबाट पीडित बनेको हो ।
चैतमा फारम भरेका ४१५ जना अझै अलपत्र
गत चैत महिनामा भियना दूतावासले क्रोएसियाको राजधानी जाग्रेबमा सञ्चालन गरेको घुम्ती शिविरमा राहदानी नविकरणका लागि बायोमेट्रिक प्रक्रिया पूरा गरेका ४१५ जना नेपालीले हालसम्म पनि आफ्नो राहदानी प्राप्त गर्न सकेका छैनन् ।
राहदानी हात नपर्दा उनीहरूको अस्थायी निवास कार्ड (TRC) समेत बन्न सकेको छैन, जसका कारण उनीहरू कानुनी रूपमा अवैध बन्न पुगेका छन् । रोजगारी गुमाइसकेका उनीहरू हाल डिपोर्टको त्रासमा बाँच्न विवश छन् ।
पीडितको दुखेसो: ‘जिन्दगी महामुस्किल भो’
लमजुङकी एक पीडित मिनु गुरुङले आफ्नो व्यथा सुनाउँदै भनिन्, “कोठाबाट बाहिर निस्किम, अस्थायी निवास कार्ड (TRC) छैन । अस्थायी निवास कार्ड एप्लाई गरौं, दूतावासले पासपोर्ट नै दिएन ।”
आफू १५ लाख रुपैयाँ खर्चिएर क्रोएसिया आए पनि न पैसा कमाउन सकेको, न त वैधानिक ढंगले शान्तिसँग बस्न नै पाएको उनको गुनासो छ । “अहिले जिन्दगी जिउन नै मुस्किल मात्रै हैन, महामुस्किल भो मेरो र म जस्ता हजारौंको,” गुरुङले भनिन् ।
दूतावासको ‘अव्यावहारिक’ तीन बुँदे फर्मान
चौतर्फी आलोचना र गुनासो बढेपछि, भियनास्थित नेपाली नियोगले राहदानी वितरणसम्बन्धी ‘अत्यन्त जरूरी सूचना’ भन्दै तीन बुँदे विकल्पसहितको फर्मान जारी गरेको छ ।
दूतावासका अनुसार, TRC तथा राहदानीको म्याद समाप्त भएर स्वयं उपस्थित हुन नसक्नेहरूले निम्न प्रक्रिया पूरा गरेर राहदानी लिन सक्नेछन् :
१. सम्बन्धित व्यक्तिले नजिकको विश्वासिलो साथीलाई लिखित मन्जुरीनामासहित पुरानो राहदानी दिई पठाएको खण्डमा । २. कार्यरत कम्पनीको आधिकारिक व्यक्ति कम्पनीको पत्रसहित राहदानी लिन स्वयं राजदूतावासमा उपस्थित भएमा । ३. सम्बन्धित व्यक्तिले डीएचएल (DHL) वा अन्य माध्यमको प्रयोग गरी ट्रान्सपोर्ट लेबल बुक गरी तोकिएको ठेगानामा पठाउन अनुरोध गरेमा । (तर, यसका लागि पुरानो राहदानी दूतावासमा पहिल्यै प्राप्त भएको हुनुपर्नेछ) ।
समुदायको आक्रोश: ‘दूतावासको दुःख दिने नियत’
दूतावासले जारी गरेको यो सूचनाले पीडित नेपालीलाई राहत दिनुको साटो झनै आक्रोशित बनाएको छ । एनआरएनए क्रोएसियाका वरिष्ठ उपाध्यक्ष हर्क साहुले दूतावासले अघि सारेका प्रक्रियाहरू सामान्य नागरिकले पूरा गर्नै नसकिने खालका र ‘दुःख दिने नियतको पराकाष्ठा’ भएको आरोप लगाएका छन् ।
उनले भने, “युरोपको व्यस्त जीवनमा अर्काको राहदानीको मन्जुरीनामा लिएर क्रोएसियादेखि भियनासम्म कोही गैदिन्छ र राहदानी पाइन्छ भन्नु कोरा कल्पना सिवाय अरु केही हैन ।”
उपाध्यक्ष साहुले दूतावासको दोस्रो विकल्पप्रति व्यङ्ग्य गर्दै भने, “कम्पनीको आधिकारिक व्यक्ति पत्रसहित स्वयं उपस्थित भएमा राहदानी दिन्छु भन्नू, राहदानी नै दिन्न भने बराबर हो ।” उनका अनुसार, राहदानीकै म्याद गुज्रिएपछि क्रोएसियामा काम पाउनै सकिँदैन, अनि कुन कम्पनीको सहाराले पासपोर्ट प्राप्त गर्छु भन्ने सोच्नु अर्को मुर्खता हो ।
नेपाली नागरिकको ‘अभिभावक’ मानिनुपर्ने दूतावास नै आफ्ना नागरिकको गम्भीर समस्याप्रति उदासीन बनेको भन्दै क्रोएसियास्थित नेपाली समुदायले गम्भीर आपत्ति जनाएको छ । उनीहरूले हजारौं नेपालीको भविष्य अन्धकार बनाउने यस प्रक्रियालाई तत्काल सच्याएर सहज रूपमा राहदानी वितरणको व्यवस्था मिलाउन माग गरेका छन् ।