पोर्चुगल — पोर्चुगलमा रहेका नेपाली समुदायलाई फुटबलको माध्यमबाट एकताबद्ध गर्ने लक्ष्यका साथ आयोजना हुन लागेको प्रतिष्ठित ‘दोस्रो साओ टियोटोनियो गोल्ड कप २०२५’ को मिति परिवर्तन भएको छ । आयोजक नेपाली क्लब साओ टियोटोनियोले एक सूचना जारी गर्दै, यसअघि नोभेम्बर १६ मा हुने भनिएको प्रतियोगिता केही प्राविधिक कारणवश एक साता पछि, अर्थात् नोभेम्बर २३ मा आयोजना हुने निश्चित भएको जानकारी दिएको छ ।
“एकताको लागि फुटबल, फुटबलद्वारा एकताबद्ध” भन्ने मूल नारालाई आत्मसाथ गर्दै आयोजना हुन लागेको यस प्रतियोगिताले पोर्चुगलमा रहेका नेपालीहरूबीच भाइचारा, सद्भाव र सामुदायिक एकतालाई थप बलियो बनाउने विश्वास आयोजकले लिएको छ ।
प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन आयोजकले विजेता तथा उपविजेता टोलीहरूका लागि मोटो नगद पुरस्कारको व्यवस्था गरेको छ । आयोजकका अनुसार, प्रतियोगिताका विजेता टोलीले नगद ३ हजार ५ सय ३५ युरो साथै ट्रफी र मेडल प्राप्त गर्नेछ ।
त्यसैगरी, दोस्रो स्थान हासिल गर्ने उपविजेता टोलीले नगद १ हजार ७ सय १७ युरो, ट्रफी र मेडल प्राप्त गर्नेछ । सेमिफाइनलसम्मको यात्रा तय गर्ने दुई टोलीलाई पनि निराश नबनाइने आयोजकले बताएको छ । सेमिफाइनलमा पुग्न सफल दुई टोलीलाई प्रोत्साहन स्वरूप प्रति टोली ५/५ सय युरो प्रदान गरिनेछ ।
प्रतियोगिता नोभेम्बर २३, शनिबारका दिन बिहान ८ बजेदेखि ‘जीडीआर साओ टियोटोनियो’ (GDR São Teotónio) खेल मैदानमा सुरु हुनेछ । यो मैदान स्थानीय पोर्चुगिज क्लब ‘ग्रुपो डेस्पोर्टिभो रेनासेन्टे एस. टियोटोनियो’ को आधिकारिक गृह मैदान हो ।
आयोजकले प्रतियोगितामा सहभागी हुन चाहने पोर्चुगलस्थित विभिन्न नेपाली क्लब तथा टोलीहरूका लागि दर्ता खुला गरेको छ ।
प्रवेश शुल्क : ३ सय ५० युरो
दर्ताको अन्तिम मिति : नोभेम्बर १० तारिख
इच्छुक टोलीहरूले तोकिएको समयभित्र आफ्नो दर्ता सुनिश्चित गर्नुपर्नेछ । प्रतियोगिता सम्बन्धी थप जानकारी तथा टोली दर्ताका लागि आयोजकले निम्न सम्पर्क नम्बरहरू उपलब्ध गराएको छ : सम्पर्क : ९२००८९८६८, ९२०१६५७८३, ९२०१७७४२५ पोर्चुगलमा रहेका नेपाली फुटबल खेलाडी तथा खेलप्रेमीहरूले यस प्रतियोगितालाई निकै उत्साहका साथ हेरेका छन् । यस प्रतियोगिताले स्थानीय नेपाली युवाहरूलाई आफ्नो खेल प्रतिभा प्रदर्शन गर्ने महत्त्वपूर्ण मञ्च प्रदान गर्ने र समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।