Home Login
नेपाली राजदूतावास लिस्बन

पोर्चुगलमा रहेका नेपालीहरूका लागि राहदानी आवेदन खुल्यो

लिस्बन —  पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि अनलाइन आवेदन खुला गरेको छ । राजदूतावासले आज (शुक्रबार) एक सूचना जारी गर्दै आगामी डिसेम्बर १५ देखि २०२५ को डिसेम्बर महिनाको अन्तिमसम्मका लागि बायोमेट्रिक्स अपोइन्टमेन्ट खुला गरिएको जानकारी दिएको हो ।

राजदूतावासका अनुसार राहदानी नवीकरण गर्न चाहने सेवाग्राहीका लागि आज साँझ ५ बजेदेखि अनलाइन बुकिङ प्रणाली खुला गरिनेछ । यो सेवा विशेष गरी ती आवेदकहरूका लागि लक्षित छ जसको राहदानीको म्याद सकिन ६ महिना वा सोभन्दा कम समय बाँकी छ । सेवाग्राहीहरूले राहदानी विभागको आधिकारिक वेबसाइट (emrtds.nepalpassport.gov.np) मा गएर तोकिएको लिंकमार्फत अनलाइन फारम भर्नुपर्नेछ ।

आवेदकहरूले अनलाइन फारम भरेपछि प्राप्त हुने बारकोडसहितको फारम प्रिन्ट गरी आफूसँग सुरक्षित राख्नुपर्नेछ । तोकिएको मिति र समयमा बायोमेट्रिक्स (फोटो खिच्ने र औंठाछाप लगाउने) का लागि राजदूतावासको कार्यालय, Rua Pero de Alenquer 29, 1400-293, Lisboa मा उपस्थित हुँदा उक्त प्रिन्ट आउट, आफ्नो सक्कल राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र तथा तिनका प्रतिलिपिहरू अनिवार्य रूपमा साथमा लिएर आउन राजदूतावासले अनुरोध गरेको छ ।

नाबालकहरूको हकमा भने प्रक्रिया केही फरक र थप कागजातहरू आवश्यक पर्ने जनाइएको छ । नाबालिग आवेदकका अभिभावकले नाबालिग परिचयपत्र, जन्मदर्ता प्रमाणपत्र, बुबा तथा आमाको नागरिकताको प्रमाणपत्र, राहदानी र विवाह दर्ताको प्रमाणपत्र समेत अनिवार्य रूपमा लिएर आउनुपर्नेछ । यी कागजातहरू नभई बायोमेट्रिक्स प्रक्रिया अघि बढाउन नसकिने हुनाले सम्पूर्ण कागजात रुजु गरेर मात्र दूतावास आउन आग्रह गरिएको छ ।

राहदानीका लागि अनलाइन अपोइन्टमेन्टहरू निश्चित समयमा मात्र खुला गरिने भएकाले एकैपटक धेरैले प्रयास गर्दा तत्कालै बुकिङ नहुन पनि सक्छ । यस्तो अवस्थामा नआत्तिन र धैर्यताका साथ पुनः प्रयास गर्न वा अर्को लटको प्रतीक्षा गर्न दूतावासले सेवाग्राहीहरूलाई आग्रह गरेको छ । राहदानीसम्बन्धी थप अन्य जानकारी आवश्यक परेमा राजदूतावासको वेबसाइटको पासपोर्ट सर्भिस पेजमा गएर विस्तृत विवरण हेर्न सकिनेछ ।

सेवा प्रवाहका सम्बन्धमा दूतावासले समय तालिका पनि स्पष्ट पारेको छ । कार्यालय खुलेको दिन बिहान ९:१५ देखि दिउँसो १:१५ सम्म कन्सुलर सेवाहरू उपलब्ध हुनेछन् भने राहदानी वितरण तथा राहदानीसम्बन्धी सोधपुछका लागि दिउँसो २ बजेपछिको समय निर्धारण गरिएको छ । सेवाग्राहीले थप जानकारीका लागि राजदूतावासको टेलिफोन नम्बर २१३०११३०८ मा सम्पर्क गर्न वा eonlisbon@gmail.com मा ईमेलमार्फत आफ्ना जिज्ञासा राख्न सक्नेछन् ।

Leave a Reply