मोन्तिजो (पोर्चुगल) — पोर्चुगलको मोन्तिजोमा बसोबास गर्ने नेपालीहरूको साझा संस्था ‘मोन्तिजो नेपाली समाज’ को दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । आइतबार मोन्तिजोस्थित ‘रोयल मम बार’ रेस्टुरेन्टमा आयोजित उक्त अधिवेशनले सोम गुरुङको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संस्थाका संस्थापक गोपाल योन्जनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै समाजलाई थप उचाइमा पुर्याउने संकल्प गरेको छ ।
अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा सन्तोष घिमिरे, सचिवमा दिपेन्द्र कटेल, सह-सचिवमा अशोक गुरुङ र कोषाध्यक्षमा छिरिङ निमा शेर्पा चयन हुनुभएको छ । सर्वसम्मत रूपमा चयन भएको २५ सदस्यीय यस टोलीले मोन्तिजो क्षेत्रमा रहेका नेपालीहरूको हकहित, आपसी सहयोग र नेपाली संस्कृतिको जगेर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गोपाल योन्जनले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै संस्थाको स्थापनाकालको उद्देश्य स्मरण गराउनुभयो र आगामी दिनमा एकताका साथ अघि बढ्न शुभकामना दिनुभयो ।
अधिवेशन लगत्तै बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले समुदायका लागि महत्वपूर्ण निर्णय समेत गरेको छ । समाजले आगामी अप्रिल महिनामा ‘दोस्रो मोन्तिजो गोल्ड कप ७ ए साइड फुटबल प्रतियोगिता’ आयोजना गर्ने निर्णय पारित गरेको छ । खेलकुदको माध्यमबाट नेपाली युवाहरूलाई संगठित गर्ने र प्रवासमा भाइचाराको सम्बन्ध विस्तार गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको नवनिर्वाचित अध्यक्ष सोम गुरुङले जानकारी दिनुभयो ।
मोन्तिजोमा रहेका नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको उक्त अधिवेशनले स्थानीय नेपाली समुदायमा नयाँ उत्साह सञ्चार गरेको छ । कार्यक्रमको अन्त्यमा बोल्दै नवनिर्वाचित पदाधिकारीहरूले संस्थालाई पारदर्शी र समावेशी रूपमा अगाडि बढाउँदै सामाजिक कार्यमा सक्रिय रहने अठोट व्यक्त गरेका छन् ।





