Home Login
संघ-संस्था

माघे संक्रान्ति तताउन पोर्चुगल आउँदै श्याम राना र ज्योति मगर

लिस्बन (पोर्चुगल) प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र परम्पराको संरक्षणमा सक्रिय मगर संघ पोर्चुगलले सन् २०२६ को माघे संक्रान्ति पर्व ऐतिहासिक रूपमा मनाउने तयारी गरेको छ । यस पटकको ‘माघे संक्रान्ति बृहत् सांस्कृतिक कार्यक्रम २०२६’ लाई विशेष र भव्य बनाउन नेपालका दुई चर्चित हस्ती गायक श्याम राना मगरगायिका ज्योति मगर पोर्चुगल आउने भएका छन् ।

नेपाली लोकदोहोरी क्षेत्रका बादशाह मानिने श्याम राना मगर र आफ्नो जादुमयी प्रस्तुतिले दर्शकलाई जुरुक्कै उचाल्न सिपालु गायिका ज्योति मगरको उपस्थितिले यस वर्षको लिस्बनको माहोल तातिने निश्चित छ । संघले यी दुई कलाकारको बेजोड प्रस्तुतिसहित कार्यक्रम आयोजना गर्ने घोषणा गरेसँगै पोर्चुगलमा रहेका नेपालीहरूमा उत्साह थपिएको छ ।

कार्यक्रमको मुख्य आकर्षण नै श्याम राना र ज्योति मगरको ‘लाइभ’ प्रस्तुति हुनेछ । श्याम रानाको ठट्यौली शैली र मौलिक दोहोरी तथा ज्योति मगरको बोल्ड र दमदार सांगीतिक प्रस्तुतिले दर्शकहरूलाई भरपुर मनोरञ्जन दिने आयोजकले विश्वास लिएको छ । साथमा चर्चित गायिका तिर्सना घर्ती मगर र शान्ति श्रीस मगरको विशेष प्रस्तुतिले कार्यक्रमलाई थप रौनक प्रदान गर्नेछ ।

यो विशेष सांगीतिक उत्सव सन् २०२६ जनवरी २४ तारिख (शनिबार) का दिन पोर्चुगलको राजधानी लिस्बनस्थित Praca David Leandro Da Silva 22, 1950-064 मा आयोजना हुनेछ ।

‘सम्मुनत मानव सभ्यताको लागि कला संस्कृति, सांस्कृतिक उन्नयनको लागि संक्रान्ति’ भन्ने मूल नाराका साथ अघि बढेको मगर संघ पोर्चुगल (स्थापना २०१०) ले प्रवासमा नेपालीपन जोगाउन निरन्तर यस्ता कार्यक्रमहरू गर्दै आएको छ । परदेशको व्यस्तताका बीच पनि आफ्ना प्रिय कलाकारहरूसँग नाच्न, गाउन र रमाउन पाइने यो अवसर नगुमाउन संघले सम्पूर्ण पोर्चुगलवासी नेपालीहरूलाई अनुरोध गरेको छ ।

कार्यक्रमलाई व्यवस्थित बनाउन आयोजक समिति खटिएको छ भने प्रवेश शुल्क प्रति व्यक्ति २० युरो निर्धारण गरिएको छ । राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने यो कार्यक्रमले प्रवासमा आपसी भाइचारा र एकताको सन्देश दिने अपेक्षा गरिएको छ ।

Leave a Reply