Home Login
संघ-संस्था

स्पेनमा तामाङ समुदायको वृहत् सोनाम ल्होछार कार्यक्रम भव्य रूपमा सम्पन्न

म्याड्रिड (स्पेन) — तामाङ समुदायको मौलिक पर्व, पहिचान, भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको मञ्जुश्री संवत् २८६२, ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार विशेष वृहत् सांस्कृतिक कार्यक्रम स्पेनमा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ ।

नेपाल तामाङ एकता समाज स्पेन को आयोजनामा सम्पन्न उक्त कार्यक्रम समाजका अध्यक्ष पान बहादुर बोम्जन तामाङ को सभापतित्वमा तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा तामाङ परिवार बार्सिलोनाका अध्यक्ष पासाङ सुजिल गोले विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रमको उद्घाटन नेपालको राष्ट्रिय गान तथा तामाङ समुदायको राष्ट्रिय गानसँगै दीप प्रज्वलन गरी गरिएको थियो । समाजका वरिष्ठ उपाध्यक्ष पासाङ रुम्बा तामाङ ले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । साथै स्वागत डम्फु काइतेन विकास लामा, लक्ष्मण थोकार र पासाङ रुम्बा तामाङ ले प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन समाजका सचिव सजन स्याङ्तान तामाङ ले गर्नुभएको थियो ।

कार्यक्रममा तामाङ समुदायको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक प्रस्तुति, नृत्य तथा सांगीतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो । व्यवस्थापन, अनुशासन र सांस्कृतिक गरिमालाई प्राथमिकता दिँदै कार्यक्रमलाई सफल बनाउन कलाकार, स्वयंसेवक तथा व्यवस्थापन टोलीको महत्वपूर्ण भूमिका रहेको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा स्पेनमा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी तथा ठूलो संख्यामा दर्शकहरूको उपस्थिति रहेको थियो । आयोजक नेपाल तामाङ एकता समाज स्पेनले सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्ता सांस्कृतिक कार्यक्रममार्फत समुदायबीच एकता र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Leave a Reply