लिस्बन — पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड एटमस्फेयर (IPMA) ले ‘इन्ग्रिड’ नाम दिइएको कम चापीय प्रणालीको प्रभावका कारण मेनल्याण्ड पोर्चुगलमा मौसमको अवस्था गम्भीर बन्न सक्ने चेतावनी जारी गरेको छ । जनवरी २२ को रातीबाट सुरु हुने यो मौसमी प्रणालीको केन्द्र ४७° उत्तर र १३° पश्चिममा रहने अपेक्षा गरिएको छ, जसले आगामी केही दिनसम्म देशका विभिन्न भागमा ठूलो असर पार्नेछ ।
IPMA का अनुसार, जनवरी २२ को साँझदेखि मौसममा उल्लेख्य परिवर्तन आउनेछ । आँधीसँग सम्बन्धित फ्रन्टल सिस्टमको प्रवेशसँगै वर्षाको अवधि बढ्ने र कतिपय स्थानमा भारी वर्षा हुने सम्भावना छ । विशेष गरी पोस्ट-फ्रन्टल चरणमा, ध्रुवीय वायुको प्रभावले गर्दा मेघगर्जन र असिनासहितको वर्षा हुनेछ । यो अस्थिर मौसमको अवस्था जनवरी २४, शनिबारसम्म जारी रहने पूर्वानुमान गरिएको छ ।
यस आँधीको सबैभन्दा गम्भीर प्रभाव हिमपातको रूपमा देखिनेछ । जनवरी २३ (शुक्रबार) र २४ (शनिबार) मा उत्तरी र मध्य क्षेत्रका ६ सय देखि ८ सय मिटर उचाइ भएका भूभागहरूमा हिमपात हुनेछ ।
मौसमविद्हरूका अनुसार शुक्रबार दिउँसो र शनिबार बिहानको समयमा हिमरेखा घटेर ४ सय मिटरसम्म तल झर्न सक्ने सम्भावना छ । ८ सय देखि १ हजार मिटरभन्दा माथिका उच्च पहाडी क्षेत्रहरूमा २० देखि ३० सेन्टिमिटरसम्म र ६ सय मिटर माथिका क्षेत्रमा ५ सेन्टिमिटरसम्म हिउँ जम्न सक्ने बताइएको छ । बाक्लो हिउँ र सडकमा जम्ने बरफका कारण यातायात सञ्चालन र दैनिक जनजीवनमा ठूलो अवरोध आउन सक्ने चेतावनी दिइएको छ ।
साथै, अल्टो एलेन्टेजोको सेरा डे साओ मामेडे र अल्गार्वेको मोन्चिक पर्वत शृङ्खलाका उच्च बिन्दुहरूमा पनि हिमपातको सम्भावनालाई नकार्न सकिँदैन ।
वर्षा र हिउँसँगै हावाको गति पनि निकै तीव्र हुनेछ । विशेष गरी जनवरी २३ र २४ मा पश्चिमी दिशाबाट आउने हावाको वेग बढ्नेछ । केप मोन्डेगोको दक्षिणी तटीय क्षेत्रमा ७० देखि ९० किलोमिटर प्रति घण्टा र मध्य तथा दक्षिणी क्षेत्रका उच्च भूभागहरूमा ९० देखि १ सय किलोमिटर प्रति घण्टाको रफ्तामा हावा चल्ने सम्भावना छ । यसका साथै, तापक्रममा आउने भारी गिरावट र तीव्र हावाको संयोजनले अत्यधिक चिसो महसुस हुनेछ ।
सामुद्रिक अवस्था पनि अत्यन्तै खतरनाक रहनेछ । जनवरी २२ देखि २५ को बीचमा पश्चिमी तटमा ६ देखि ८ मिटर उचाइका उत्तरपश्चिमी छालहरू आउनेछन्, जुन कहिलेकाहीँ अधिकतम १५ मिटरसम्म पुग्न सक्ने चेतावनी दिइएको छ ।
यो विषम परिस्थितिलाई मध्यनजर गर्दै IPMA ले वर्षा र हावाहुरीका लागि ‘पहेँलो’ स्तरको चेतावनी जारी गरेको छ भने हिमपात र खतरनाक समुन्द्री छालका लागि ‘सुन्तला’ र ‘रातो’ स्तरको गम्भीर चेतावनी जारी गरेको छ। मौसम विज्ञान विभागले आगामी दिनहरूमा यी चेतावनीहरू अद्यावधिक गरिने जनाउँदै सर्वसाधारणलाई सतर्क रहन र मौसमसम्बन्धी सूचनाहरूको निरन्तर निगरानी गर्न सल्लाह दिएको छ ।





