एन बी अन्जान (पोर्चुगल) — तमु समुदायको मौलिक पहिचान, भाषा, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ तमु समाजद्वारा आयोजित तमु ल्होसार २०८२ आज पोर्चुगलको पारदिल्होमा भव्य, अनुशासित तथा सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रमका अध्यक्ष विकाश गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा समाजसेवी, साहित्यकार तथा अनेसास पोर्चुगलका सल्लाहकार आर.पी. पन्त प्रमुख अतिथि रहेका थिए। प्रमुख अतिथिले आफ्नो मन्तव्यमा प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृति र पहिचानलाई जगेर्ना गर्दै पुस्तान्तरण गर्न तमु समाजले निर्वाह गरिरहेको भूमिकाको उच्च प्रशंसा गरे । यस्ता कार्यक्रमहरूले समुदायबीच आपसी एकता, सद्भाव र सामाजिक चेतनालाई थप सुदृढ बनाउने विश्वास उहाँले व्यक्त गरे ।
कार्यक्रमको आध्यात्मिक पक्षलाई सशक्त बनाउँदै लामा गुरु धनबहादुर गुरुङले विधिवत् पूजा–आराधना तथा मन्त्रोच्चारण गरेका थिए । उहाँले सहभागी सबैलाई गलामा धागो बाँधी आशीर्वाद प्रदान गर्नुभएको यस अवसरले कार्यक्रमलाई सांस्कृतिक मात्र नभई आध्यात्मिक रूपमा पनि अर्थपूर्ण बनाएको उपस्थितहरूको भनाइ थियो ।
कार्यक्रमको सञ्चालन चक्रबिर गुरुङले शालीन, सुसंस्कृत र प्रभावकारी शैलीमा गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि सिता थापा तथा अतिथि सारा अलमेदाले कार्यक्रमको व्यवस्थापन, सहभागिता र उद्देश्यप्रति प्रशंसा व्यक्त गरिन् ।
त्यसैगरी, Nepalese Community Pardilho का अध्यक्ष प्रकाश खड्काले मन्तव्य राख्दै विदेशमा नेपाली राहदानी बोकेर बसोबास गरिरहेका सबै नेपालीहरूको पीडा, संघर्ष र आकांक्षा साझा रहेको उल्लेख गरे ।
उहाँले दुःख–सुखमा आपसी सहकार्य र एकताको आवश्यकता औंल्याउँदै प्रवासमा रहेका सबै नेपालीहरू एउटै भावनात्मक सूत्रमा बाँधिएको धारणा व्यक्त गरे ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत गुरुङ तथा नेपाली भाषामा आधारित गीत–नृत्य प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै तमु समुदायको सांस्कृतिक सम्पन्नतालाई उजागर गरेको थियो । कलाकारहरूको प्रस्तुति दर्शकबाट मुक्तकण्ठले प्रशंसित भयो ।
प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचानलाई जीवन्त राख्ने तमु समुदायको सामूहिक प्रतिबद्धता, सांस्कृतिक चेतना र सामाजिक एकताको सशक्त उदाहरणका रूपमा सफलतापूर्वक सम्पन्न भएको छ ।





