लिमासोल, साइप्रस — साइप्रस सरकारले शुक्रबार सार्वजनिक गरेको पछिल्लो आधिकारिक आप्रवासन तथ्याङ्क अनुसार, भिसा लिएर कानुनी रूपमा बसोबास गर्ने तेस्रो देशका नागरिकहरूमध्ये नेपालीहरू तेस्रो स्थानमा परेका छन् ।
साइप्रसको गृह मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार हाल १४ हजार ९ जना नेपाली नागरिकसँग साइप्रसमा बस्न र काम गर्न पाउने वैध भिसा रहेको छ । यस तथ्याङ्कले साइप्रसको अर्थतन्त्र र सामाजिक जीवनमा नेपाली समुदायको बढ्दो महत्वलाई उजागर गरेको छ ।
तेस्रो देशका नागरिकमध्ये सबैभन्दा धेरै संख्यामा रुसी नागरिक रहेका छन्, जसको संख्या ४० हजार ५ सय ८३ छ । दोस्रो स्थानमा बेलायती नागरिकहरू छन्, जसको संख्या १५ हजार ३ सय ९५ रहेको छ । नेपाली समुदायले सिरियाली नागरिकलाई पछि पार्दै तेस्रो स्थान हासिल गरेको हो । सिरियाली नागरिकको संख्या १३ हजार ५ सय ४१ रहेको तथ्याङ्कमा उल्लेख छ ।
यो तथ्याङ्कले साइप्रसमा विभिन्न देशबाट आउने आप्रवासीहरूको बदलिँदो प्रवृत्तिलाई देखाउँछ। विशेषगरी, दक्षिण एसियाली मुलुकबाट कामका लागि साइप्रस आउनेहरूको संख्यामा नेपालीहरूको उपस्थिति बलियो बन्दै गएको प्रस्ट हुन्छ ।
साइप्रसमा रहेका नेपालीहरू मुख्यतया कृषि, पर्यटन, र घरेलु कामदार जस्ता क्षेत्रहरूमा कार्यरत छन् । उनीहरूले साइप्रसको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुऱ्याउनुका साथै नेपालमा ठूलो मात्रामा रेमिट्यान्स समेत पठाउँदै आएका छन् ।
सरकारी तथ्याङ्कले नेपाली समुदायको संख्यालाई आधिकारिक रूपमा पुष्टि गरेसँगै साइप्रसमा नेपालीहरूको हक, हित र अधिकारका विषयमा थप ध्यान दिनुपर्ने आवश्यकता बढेको छ ।