Home Login
साईप्रस

साइप्रसमा नेपाली तेस्रो ठूलो आप्रवासी समूह, १४ हजार भन्दा बढीसँग भिसा

लिमासोल, साइप्रससाइप्रस सरकारले शुक्रबार सार्वजनिक गरेको पछिल्लो आधिकारिक आप्रवासन तथ्याङ्क अनुसार, भिसा लिएर कानुनी रूपमा बसोबास गर्ने तेस्रो देशका नागरिकहरूमध्ये नेपालीहरू तेस्रो स्थानमा परेका छन् ।

साइप्रसको गृह मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार हाल १४ हजार ९ जना नेपाली नागरिकसँग साइप्रसमा बस्न र काम गर्न पाउने वैध भिसा रहेको छ । यस तथ्याङ्कले साइप्रसको अर्थतन्त्र र सामाजिक जीवनमा नेपाली समुदायको बढ्दो महत्वलाई उजागर गरेको छ ।

तेस्रो देशका नागरिकमध्ये सबैभन्दा धेरै संख्यामा रुसी नागरिक रहेका छन्, जसको संख्या ४० हजार ५ सय ८३ छ । दोस्रो स्थानमा बेलायती नागरिकहरू छन्, जसको संख्या १५ हजार ३ सय ९५ रहेको छ । नेपाली समुदायले सिरियाली नागरिकलाई पछि पार्दै तेस्रो स्थान हासिल गरेको हो । सिरियाली नागरिकको संख्या १३ हजार ५ सय ४१ रहेको तथ्याङ्कमा उल्लेख छ ।

यो तथ्याङ्कले साइप्रसमा विभिन्न देशबाट आउने आप्रवासीहरूको बदलिँदो प्रवृत्तिलाई देखाउँछ। विशेषगरी, दक्षिण एसियाली मुलुकबाट कामका लागि साइप्रस आउनेहरूको संख्यामा नेपालीहरूको उपस्थिति बलियो बन्दै गएको प्रस्ट हुन्छ ।

साइप्रसमा रहेका नेपालीहरू मुख्यतया कृषि, पर्यटन, र घरेलु कामदार जस्ता क्षेत्रहरूमा कार्यरत छन् । उनीहरूले साइप्रसको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुऱ्याउनुका साथै नेपालमा ठूलो मात्रामा रेमिट्यान्स समेत पठाउँदै आएका छन् ।

सरकारी तथ्याङ्कले नेपाली समुदायको संख्यालाई आधिकारिक रूपमा पुष्टि गरेसँगै साइप्रसमा नेपालीहरूको हक, हित र अधिकारका विषयमा थप ध्यान दिनुपर्ने आवश्यकता बढेको छ ।

Leave a Reply