लिमासोल, साइप्रस — युरोपेली मुलुक साइप्रसको दक्षिणी सहर लिमासोलको उत्तरी भेगमा अवस्थित पहाडी क्षेत्रमा बुधबार, २३ जुलाई २०२५ को साँझदेखि भीषण डढेलो फैलिएको छ। तीव्र गतिमा चलेको हावा र अत्यधिक गर्मीका कारण आगो नियन्त्रण बाहिर गएको छ, जसले गर्दा कम्तीमा चारवटा गाउँ खाली गराइएको छ र दर्जनौं घरमा क्षति पुगेको छ । आगलागीको यो घटनामा परेर एक व्यक्तिको कारभित्र जलेर मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।
अधिकारीहरूका अनुसार, बुधबार दिउँसोदेखि सुरु भएको डढेलो प्रचण्ड हावाहुरी र ४३ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमका कारण तुरुन्तै भयावह रूपमा फैलियो। लिमासोलको पर्यटकीय तटीय क्षेत्रबाट पनि देख्न सकिने आगोको मुस्लोले आकाश ढाकेको थियो ।
आगलागीबाट लोफौ, कोइलानी, र वासा कोइलानीउ लगायतका गाउँहरू नराम्ररी प्रभावित भएका छन् । यी क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ र उनीहरूको अस्थायी बसोबासको लागि स्थानीय नगरपालिका र खेलकुद क्लबहरूले सहयोग गरिरहेका छन् ।
साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडौलिडिजले घटनास्थलको भ्रमण गरी स्थितिलाई “अत्यन्तै कठिन” र आगोको फैलावट “विशाल” रहेको बताउनुभएको छ। उहाँले सबै आपत्कालीन संयन्त्रहरू परिचालन गरिएको जानकारी दिनुभयो ।
आगो निभाउनका लागि १४ वटा विमान र हेलिकप्टरका साथै सयौंको संख्यामा अग्नि नियन्त्रक, वन विभागका कर्मचारी र स्वयंसेवकहरू खटिएका छन् । साइप्रसले युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत अन्तर्राष्ट्रिय सहयोगको लागि पनि अनुरोध गरेको छ, जसपश्चात् छिमेकी मुलुक जोर्डनले सहयोग पठाउने भएको छ ।
अग्निनियन्त्रकहरूले आगो बस्तीमा पस्न नदिन अथक प्रयास गरिरहेका छन्, तर परम्परागत शैलीमा बनेका ढुङ्गे घरहरू एकआपसमा जोडिएका कारण आगो निभाउने कार्यमा थप जटिलता उत्पन्न भएको छ ।
यसैबीच, लिमासोल जिल्लाकै डाईम्स गाउँ नजिकै भएको अर्को आगलागीको घटनामा भने कारण पत्ता लागेको छ। करिब ६ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त आगो ८४ वर्षीय एक वृद्धले विद्युतीय ग्राइन्डर चलाउँदा निस्केको झिल्कोबाट सुरु भएको बताइएको छ । ती व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
साइप्रसमा विगत केही वर्षयता खडेरी र गर्मीका कारण डढेलोको जोखिम उच्च रहेको छ । अधिकारीहरूले सर्वसाधारणलाई गर्मी मौसममा आगो लाग्न सक्ने कुनै पनि गतिविधि नगर्न र सानो झिल्कोले पनि विनाशकारी रूप लिनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । ठूलो डढेलोको मुख्य कारण भने हालसम्म स्पष्ट भइसकेको छैन र अनुसन्धान जारी रहेको बताइएको छ ।