Home Login
साईप्रस

साइप्रसको लिमासोलमा भीषण आगलागी, गाउँहरू खाली गराइयो, एक जनाको मृत्यु

लिमासोल, साइप्रस युरोपेली मुलुक साइप्रसको दक्षिणी सहर लिमासोलको उत्तरी भेगमा अवस्थित पहाडी क्षेत्रमा बुधबार, २३ जुलाई २०२५ को साँझदेखि भीषण डढेलो फैलिएको छ। तीव्र गतिमा चलेको हावा र अत्यधिक गर्मीका कारण आगो नियन्त्रण बाहिर गएको छ, जसले गर्दा कम्तीमा चारवटा गाउँ खाली गराइएको छ र दर्जनौं घरमा क्षति पुगेको छ । आगलागीको यो घटनामा परेर एक व्यक्तिको कारभित्र जलेर मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

अधिकारीहरूका अनुसार, बुधबार दिउँसोदेखि सुरु भएको डढेलो प्रचण्ड हावाहुरी र ४३ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमका कारण तुरुन्तै भयावह रूपमा फैलियो। लिमासोलको पर्यटकीय तटीय क्षेत्रबाट पनि देख्न सकिने आगोको मुस्लोले आकाश ढाकेको थियो ।

आगलागीबाट लोफौ, कोइलानी, र वासा कोइलानीउ लगायतका गाउँहरू नराम्ररी प्रभावित भएका छन् । यी क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ र उनीहरूको अस्थायी बसोबासको लागि स्थानीय नगरपालिका र खेलकुद क्लबहरूले सहयोग गरिरहेका छन् ।

साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडौलिडिजले घटनास्थलको भ्रमण गरी स्थितिलाई “अत्यन्तै कठिन” र आगोको फैलावट “विशाल” रहेको बताउनुभएको छ। उहाँले सबै आपत्कालीन संयन्त्रहरू परिचालन गरिएको जानकारी दिनुभयो ।

आगो निभाउनका लागि १४ वटा विमान र हेलिकप्टरका साथै सयौंको संख्यामा अग्नि नियन्त्रक, वन विभागका कर्मचारी र स्वयंसेवकहरू खटिएका छन् । साइप्रसले युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत अन्तर्राष्ट्रिय सहयोगको लागि पनि अनुरोध गरेको छ, जसपश्चात् छिमेकी मुलुक जोर्डनले सहयोग पठाउने भएको छ ।

अग्निनियन्त्रकहरूले आगो बस्तीमा पस्न नदिन अथक प्रयास गरिरहेका छन्, तर परम्परागत शैलीमा बनेका ढुङ्गे घरहरू एकआपसमा जोडिएका कारण आगो निभाउने कार्यमा थप जटिलता उत्पन्न भएको छ ।

यसैबीच, लिमासोल जिल्लाकै डाईम्स गाउँ नजिकै भएको अर्को आगलागीको घटनामा भने कारण पत्ता लागेको छ। करिब ६ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त आगो ८४ वर्षीय एक वृद्धले विद्युतीय ग्राइन्डर चलाउँदा निस्केको झिल्कोबाट सुरु भएको बताइएको छ । ती व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

साइप्रसमा विगत केही वर्षयता खडेरी र गर्मीका कारण डढेलोको जोखिम उच्च रहेको छ । अधिकारीहरूले सर्वसाधारणलाई गर्मी मौसममा आगो लाग्न सक्ने कुनै पनि गतिविधि नगर्न र सानो झिल्कोले पनि विनाशकारी रूप लिनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । ठूलो डढेलोको मुख्य कारण भने हालसम्म स्पष्ट भइसकेको छैन र अनुसन्धान जारी रहेको बताइएको छ ।

Leave a Reply