Home Login
खेलकुद

जोआओ फेलिक्स साउदी क्लब अल-नासरमा अनुबन्धित, रोनाल्डोसँगै खेल्ने

रियाद, साउदी अरेबिया — पोर्चुगलका स्टार फरवार्ड जोआओ फेलिक्स साउदी प्रो लिगको क्लब अल-नासरमा अनुबन्धित भएका छन् । चर्चित खेल पत्रकार फाब्रिजियो रोमानो र अन्य प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पुष्टि गरेअनुसार फेलिक्स इंग्लिस क्लब चेल्सीबाट अल-नासरमा स्थायी स्थानान्तरणमा जान लागेका हुन् ।

यो सम्झौता लगभग ५ करोड युरो (करिब ७ अर्ब नेपाली रुपैयाँ) बराबरको रहेको बताइएको छ, जसमा सुरुवाती शुल्क ३ करोड युरो र बाँकी रकम एड-अनका रूपमा रहेको छ । फेलिक्स अब मेडिकल परीक्षण र सम्झौतामा हस्ताक्षर गर्नका लागि साउदी अरेबिया जाने तयारीमा छन् ।

यो स्थानान्तरणसँगै २६ वर्षीय फेलिक्सले आफ्नै देशका कप्तान तथा विश्वचर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोसँगै खेल्नेछन् । अल-नासरको प्रशिक्षकमा पनि पोर्चुगलकै जर्ज जेसस रहेका छन्, जसले गर्दा क्लबमा पोर्चुगिज प्रभाव थप बलियो बनेको छ ।

फेलिक्सलाई उनको पूर्व क्लब बेन्फिकाले पनि पुनः अनुबन्ध गर्न चाहेको थियो, तर अल-नासरले चेल्सीलाई आकर्षक प्रस्ताव राखेपछि यो सम्झौता टुंगिएको हो ।

चेल्सीले गत सिजन मात्रै एथ्लेटिको मड्रिडबाट फेलिक्सलाई स्थायी रूपमा खरिद गरेको थियो र यो बिक्रीबाट आफ्नो लगानी लगभग फिर्ता पाएको छ ।

एथ्लेटिको मड्रिडबाट महँगो रकममा अनुबन्धित भएपछि फेलिक्सले अपेक्ष अनुसारको प्रदर्शन गर्न संघर्ष गरिरहेका थिए । उनले चेल्सी र त्यसअघि बार्सिलोनामा लोनमा समय बिताएका थिए । अब साउदी प्रो लिगमा रोनाल्डो जस्ता अनुभवी खेलाडीको साथले उनको करियरले नयाँ मोड लिने अपेक्षा गरिएको छ ।

अल-नासरले यो अनुबन्धसँगै साउदी प्रो लिग र अन्य प्रतियोगिताहरूमा आफ्नो दाबेदारी थप बलियो बनाएको छ ।

Leave a Reply