पोर्चुगल — नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ अमेरिका सहित युरोपको विभिन्न देशहरू आउने भएका छन् । उनको यो यात्रा एक महिनासम्म चल्नेछ ।
घिसिङ जुलाइ २५ देखि अगष्ट २६ सम्म वैदेशिक भ्रमणमा रहनेछन् । घिसिङ जुलाइ २५ देखि अगष्ट १० सम्म उनी अमेरिकामा रहनेछन् भने अगष्ट ११ देखि २५ सम्म युरोपका विभिन्न देशमा रहनेछन् ।
अमेरिकामा रहँदा घिसिङ, न्यूयोर्क, बोस्टन, टेक्सास, वासिङटनका विभिन्न कार्यक्रममा सहभागी रहनेछन् । त्यसपछि बेलायतको लण्डन, स्कटल्याण्ड, बेल्जियम, पोर्चुगल समेत आउने भएका छन् ।
उनले एक महिने यो यात्रामा विभिन्न कार्यक्रम, अन्तर्क्रिया, नेपाली डायस्पोराका दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट र अनुभव साटासाट गर्ने बताएका छन् ।
त्यस्तै, घिसिङ अगस्ट ११ देखि १५ सम्म लन्डन (बेलायत) मा, अगस्ट १६ देखि १७ स्कटल्याण्डमा, अगस्ट १८ देखि २३ बेल्जियम र पोर्चुगल सहित युरोपेली देशहरूमा र अगस्ट २४ देखि २५ सम्म पुन: लन्डन (बेलायत) मा रहने भएका छन् । उनी अगष्ट २६ मा स्वदेश फर्कने कार्यक्रम छ ।
यसअघि घिसिङ बहराइन, युएई, ओमान, कतारलगायत देश पुगेर त्यहाँ रहेका नेपालीहरूसँग अन्तर्क्रिया गरेर फर्केका थिए । घिसिङको वैदेशिक भ्रमण र त्यहाँ रहेका नेपालीहरूसँगको अन्तर्क्रियाले उनी राजनीतिमा आउन खोजिरहेको संकेत दिएको उनीनिकटहरू बताउँछन् ।