पोर्चुगल — युरोपका विभिन्न देशमा बसोबास गर्ने याक्थुङ (लिम्बु) हरूको पहिलो पटक युरोप स्तरिय भेला पोर्चुगलको राजधानी लिस्बनमा गत २७ जुलाई २०२५ का दिन भव्यताका साथ सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ पोर्चुगलको आयोजनामा भएको उक्त भेलाले ३ बुँदे लिस्बन घोषणापत्र जारी गर्दै समुदायको हक, हित र पहिचानका लागि ऐक्यबद्धता जनाएको छ ।
भेलाले जारी गरेको घोषणापत्रमा प्रत्येक वर्ष युरोप स्तरिय भेला आयोजना गर्ने, जसको संयोजन युरोपका विभिन्न मुलुकमा क्रियाशील किरात याक्थुङ चुम्लुङका अध्यक्षहरूको समूहले गर्ने निर्णय गरेको छ । त्यसैगरी, लिम्बुवान पुन:स्थापनाका लागि सम्भव भएसम्म विविध कार्यक्रमहरू सञ्चालन गर्ने र मुक्कुमलुङ अतिक्रमण विरुद्ध जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउने घोषणापत्रमा उल्लेख छ ।

लिस्बनको आन्जुसस्थित एभरेष्ट रेस्टुरेन्टमा सम्पन्न भेलामा कियाचु पोर्चुगलका अध्यक्ष रुकमान केरुङ, बेल्जियमका अध्यक्ष बदन योङहाँङ, युकेबाट एनआरएनए केन्द्रीय उपाध्यक्ष विश्वास दीप तिगेला र विभिन्न देशका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्राज्ञिक बहस तथा सांस्कृतिक कार्यक्रम
भेलाको दोस्रो चरणमा ‘लिम्बुवान प्राज्ञिक बहस’ को आयोजना गरिएको थियो, जसलाई कियाचु पोर्चुगलका अध्यक्ष रुकमान केरुङले सहजीकरण गर्नुभएको थियो । बहसमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो :
– लिम्बूहरूको ऐतिहासिक पक्ष: एक चर्चा : वरिष्ठ पत्रकार तथा इतिहासविद् राजकुमार दिक्पाल
– राजनीतिमा याक्थुङ सहभागिता : विश्वास दीप तिगेला
– मुन्धुम भित्रका विविध पक्ष : प्रेमचन्द्र निङलेखू
– ‘Cardko Lãgi’ : A Collective Moral of Migrant Nepali Agriculture – किशोर सुब्बा लिम्बू
– From Autonomy to Landlessness: The Limbu Community in Historical and Global Perspective” – रोबर्ट लिम्बू
यस प्राज्ञिक बहसलाई नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगल तथा पोर्चुगलमा रहेका मातृ संस्थाहरू सहकार्यमा सम्पन्न भएको थियो ।
कार्यक्रम लिम्बु समुदायको महान चाड सिसेक्पा तङ्नाम–५०८५ को अवसरमा कियाचु पोर्चुगलद्वारा आयोजित दुई दिवसीय कार्यक्रमको हिस्सा थियो । २८ जुलाईमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक साँझको आयोजना गरिएको थियो, जसको नारा ‘हाम्रो संस्कार, हाम्रो संस्कृति, हाम्रो पहिचान; नयाँ पुस्तामा हस्तान्तरण हाम्रो अभियान’ रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोप कुमार मगर, विशिष्ट अतिथिहरू एनआरएनए केन्द्रीय उपाध्यक्ष विश्वास दीप तिगेला, एनआरएनए युरोप उपसंयोजक रोबर्ट लिम्बु, पूर्व नेपाली पर्यटनदूत रमेशकुमार गुरुङ, कियाचु बेल्जियमका अध्यक्ष बदन योङहाँङ लगायत पोर्चुगलमा क्रियाशील विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा गायिका मिजिरा सम्वाहाङफे, नृत्यकार निता पतङवा तथा अन्य कलाकारहरूले मौलिक याक्थुङ केलाङ, पालाम र च्याब्रुङ नाच प्रस्तुत गरी सांस्कृतिक रौनक बढाएका थिए ।
आयोजक संस्था किरात याक्थुङ चुम्लुङ पोर्चुगलले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, संघसंस्था, सञ्चारकर्मी, कलाकार तथा आर्थिक, नैतिक र भौतिक सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । साथै, समय अभावका कारण च्याब्रुङ तथा धान नाचलाई पर्याप्त समय दिन नसकिएकोमा भविष्यमा सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।