पोर्चुगल — गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका नवनिर्वाचित अध्यक्ष बमबहादुर जीसीले आफ्नो २०२५-०२७ को कार्यकाललाई पोर्चुगलवासी नेपालीको हितमा ऐतिहासिक बनाउने दृढता व्यक्त गर्नुभएको छ । हालै सम्पन्न एक “Meet and Greet” जुम बैठकमा बोल्दै अध्यक्ष जीसीले नेपाली समुदायले आफूप्रति देखाएको विश्वासलाई शिरोधार्य गर्दै हरेक चुनौतीलाई अवसरमा बदल्ने प्रतिबद्धता जनाउनुभयो ।
उक्त भर्चुअल बैठकमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष बद्री केसी लगायत विश्वभरका एनआरएनए प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जीसीले भन्नुभयो, “पोर्चुगलको नेपाली समाजले यसपटक मलाई जुन विश्वासका साथ अध्यक्ष पदमा निर्वाचित गरेको छ, त्यसप्रति म आभारी छु। आगामी दुई वर्षमा हामीले गर्ने हरेक काम, चाल्ने हरेक कदमलाई इतिहासले सम्झिनेछ भन्नेमा म विश्वस्त छु ।”
उहाँले थप्नुभयो, ‘चुनौतीहरू धेरै छन्, तर योजनाबद्ध तयारी र सामूहिक प्रयासबाट सबै कठिनाइलाई सहजै समाधान गर्न सकिन्छ’ । अध्यक्ष जीसीले विदेशमा रहेका नेपालीहरूबीच एकता, आपसी सहयोग र पारदर्शितालाई मूलमन्त्र बनाएर एनआरएनएलाई अझ सुदृढ र प्रभावकारी बनाउने आफ्नो कार्ययोजना रहेको स्पष्ट पार्नुभयो । उहाँले कुनै पनि परिस्थितिमा समुदायको हितमा तत्कालै कदम चाल्न आफू र आफ्नो कार्यसमिति सदैव तत्पर रहने दोहोर्याउनुभयो ।
बैठकमा बोल्दै एनआरएनए पोर्चुगलका सचिव नवराज घर्तीले पोर्चुगलले जीसीजस्तो समर्पित, इमान्दार र कर्मठ अध्यक्ष पाउनु सम्पूर्ण पोर्चुगाली नेपाली समुदायका लागि गर्वको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अध्यक्ष जीसीको लगनशील नेतृत्वले संस्थामा सकारात्मक परिवर्तन ल्याउनेछ। उहाँको नेतृत्वमा नीतिगत सुधार र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरू निरन्तर अघि बढ्नेमा हामी ढुक्क छौं ।”
त्यस्तै, सचिव घर्तीले पोर्चुगलमा रहेका नेपालीहरूले भोग्नुपरेका रोजगारी, कानुनी प्रक्रिया, सामाजिक गतिविधि र आपतकालीन सहयोगसम्बन्धी चुनौतीहरूको विस्तृत जानकारी प्रस्तुत गर्दै एनआरएनए पोर्चुगल ती समस्याहरूको समाधानमा सक्रिय रूपमा लागिरहेको जानकारी दिनुभयो ।
यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि एनआरएनए आईसीसीका केन्द्रीय सदस्य राजकुमार थापाले एनआरएनए विश्वभर छरिएर रहेका नेपालीहरूको साझा छाता संगठन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “एनआरएनए एउटा संस्था मात्र नभएर, विश्वभरका नेपालीहरूको साझा परिवार हो । पोर्चुगलको नयाँ नेतृत्वले समुदायमा जुन नयाँ ऊर्जा र सकारात्मक सन्देश प्रवाह गरेको छ, त्यसले हामी सबैलाई उत्साहित बनाएको छ । थापाले संस्थागत पारदर्शिता, कार्यक्षमता र समावेशी सहभागितामार्फत विश्वभरका नेपालीहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
उक्त अन्तरक्रियात्मक बैठकमा सहभागी विभिन्न देशका प्रतिनिधिहरूले आ-आफ्ना देशमा एनआरएनएले गरेका गतिविधि, सफलता र सामना गर्नुपरिरहेका चुनौतीहरू बारे अनुभव आदानप्रदान गरेका थिए ।
कार्यक्रमले विश्वभरका एनआरएनए शाखाहरूबीच सहकार्य र समन्वयलाई थप मजबुत बनाउने, आपसी सूचना आदानप्रदान गर्ने र आवश्यकता पर्दा एकअर्कालाई आपतकालीन सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । भविष्यमा यस्ता डिजिटल माध्यमबाट निरन्तर अन्तरक्रिया गर्ने र संयुक्त परियोजनाहरू अघि बढाउने विषयमा पनि सहभागीहरूबीच सहमति जुटेको थियो ।