रोमानिया — रोमानियाको प्रहोभा क्षेत्रमा रहेको एक होटलमा भएको आगलागीमा परी दुःखद रूपमा दुई नेपाली महिला कामदारको ज्यान गएको छ । यस घटनाको पुष्टि रोमानियाको चर्चित समाचार संस्था PRO TV ले गरेको छ ।
समाचार अनुसार, आगलागी मंगलबार बिहान भएको हो र तत्कालै उद्धार टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन प्रयास गरे पनि दुर्भाग्यवश दुई नेपाली महिलाको ज्यान जोगाउन सकिएन । मृत्यु हुने दुई नेपालीमध्ये एक नेपाली तामाङ र अर्को नेपाली युवती लिम्बु भएको पुष्टि भएको छ । समाचार अनुसार, होटेलको लापरवाहीले उक्त घटना हुन पुगेको रोमनियाको सम्बन्धित निकायले जानकारी गराएको छ ।
स्थानिय सञ्चार माध्यमका अनुसार होटलमा काम गर्ने कर्मचारीहरू मध्ये धेरैजसो विदेशी श्रमिक थिए र प्रारम्भिक अनुमान अनुसार विद्युत सर्टका कारण आगो लागेको हुनसक्ने बताइएको छ । विस्तृत विवरणका लागि अनुसन्धान जारी रहेको जनाइएको छ । रोमनिया सरकारले उक्त होटलको सञ्चालकलाई घटना भएपछि जरिवाना समेत तिराउने भएको हो ।
नेपाली समुदाय शोकमा
रोमानियामा रहेका नेपाली समुदाय र आप्रवासी श्रमिकहरू यो समाचारले स्तब्ध भएका छन् । सामाजिक सञ्जालहरूमा मृतकहरू प्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रम चलिरहेको छ ।
दुई नेपाली चेलीहरूको असामयिक निधन प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण नेपाली समुदाय शोकमा डुबेको छ । उहाँहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै, दिवंगत आत्माको चिरशान्तिको कामना गरिन्छ ।
रोमानियामा पछिल्ला वर्षहरूमा नेपाली श्रमिकहरूको संख्या उल्लेख्य रूपमा बढ्दो छ । तर, विगतमा पनि विभिन्न दुर्घटनात्मक घटनामा परी कैयौं नेपालीहरूले ज्यान गुमाइसकेका छन् । यो पछिल्लो घटना पुन: एकपटक विदेशमा नेपाली श्रमिकहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाउने खालको छ ।
दुर्घटनाको यथार्थ विवरण सार्वजनिक हुनुका साथै, पीडित परिवारलाई सहानुभूति मात्र नभई, सरकारको तर्फबाट आवश्यक राहत, क्षतिपूर्ति र न्याय सुनिश्चित गर्ने कार्य अत्यावश्यक देखिन्छ ।