Home Login
प्रवास

कोष्टाव्लाङ्का बस्ने नेपालीहरु दसैंमा एकैसाथ रमाए

विप्लव काफ्ले, स्पेन — कोष्टाव्लाङ्काको बेनिड्रोममा दसैँको दिन नेपालीहरु छमछमी नाचेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाली समाज एशोसियसन कोष्टाव्लाङ्काले आयोजना गरेको बडा दसैँ विशेष सांस्कृतिक कार्यक्रममा नेपालीहरु रमाएका हुन् ।

गायक तुलसी शिवाकोटीले गाउँ घरको सम्झनाले मनै रुवायो भन्दै दसै आयो- तिहार आयो गीत गाएर माहोल तताए । यस्तो मौका जुर्दैन बेला बेलामा गीत गाउदा दर्शक एकैसाथ नाच्न थाले । गायक शिवाकोटीले दर्शकको रोजाई अनुसारका डान्सिङ गीतहरु म्युजिक ट्रायकमा गाए । उनले रेशम फिरिरि, तालको पानी, कलिलो तामालाई, सम्झना विर्सना, चलेछ बतास जस्ता दर्जनौं गीतहरु गाए ।

नेपाली मौलिक पोशाकमा सजिएका नारीहरुले नेपाल मन पर्छ, गुन्यु चोलो मन पर्छ भन्दै गीतहरुमा नाचे । मुनु थापा , ईशा पुन मगर, सुहानी रोका साइला दाइ गीतमा नाच्दा हुटिङ बढ्यो । घिन्ताङ घिन्ताङ बोलको गीतमा सेलेना श्रेष्ठ, दीक्षा श्रेष्ठले तालि पाए । दर्जनौं कलाकारका नृत्यले नेपालको याद दिलाएका थिए ।

४ घण्टा चलेको कार्यक्रमको सांगीतिक माहोलले नेपालकै दसैँको रौनक दिएको थियो । कार्यक्रम संयोजक तथा एनआरएनए स्पेनका सचिव नवराज दुवाडीले सबै नेपाली एकसाथ बसेर दसैंलाई रमाइलो गरि मनाइएको बताए । एनआरएनए स्पेनका उपाध्यक्ष देवराज सापकोटाले घरको नियास्रो मेट्ने खालको कार्यक्रम भएको बताए । एनआरएनए स्पेनका बरिष्ठ उपाध्यक्ष तथा प्रमुख अतिथि सुरेन्द्र भुजेलले प्रवासमा बसेपनि नेपालीहरु कला, संस्कृति, चाडपर्व जगेर्ना गर्न सक्रिय रहेको बताए ।

सो अवसरमा कोष्टाव्लाङ्का क्षेत्रमा २० वर्ष पहिले आएर नेपाली समुदाय विस्तार तथा समन्वय गर्न सक्रिय विजय थापालाई विशेष सम्मान गरिएको थियो । थापा समाजका वरिष्ठ सल्लाहकार हुन् । यस्तै समाजका निवर्तमान महासचिव स्वर्गीय विजय कुँवरलाई  नेपाली समुदाय तथा समाजका लागि पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । यस्तै एनआरएनए कोष्टाव्लाङ्का का संस्थापक वीरेन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।

नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काका अध्यक्ष केसर बहादुर थापाले कोष्टाव्लाङ्का क्षेत्रमा नेपाली समुदाय बढ्दै जादा नेपालको समृद्धि र संस्कृति जगेर्नाका गतिविधि बढेको बताए । एनआरएनए कोष्टाव्लाङ्का का अध्यक्ष विपिन कुमार विसीले सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताए ।

कार्यक्रमलाई सफल पार्न प्रायोजन गर्ने स्पेन बस्दै व्यवसायमा लागेका  नेपालीहरुलाई पनि सम्मान गरिएको थियो । नृत्य प्रस्तुत गर्ने कलाकारहरुलाई प्रतिभा सम्मानले सम्मानित गरिएको थियो । कार्यक्रम घनश्याम गौतम र अनुष्मा पोखरेल ले सञ्चालन गरेका थिए ।

Leave a Reply