आयरल्याण्ड — नेपाली राजदूतावास लण्डनले आयरल्याण्डमा घुम्ती कन्सुलर शिविर आयोजना गर्ने भएको छ । दूतावासका अनुसार शिविर आगामी २ नोभेम्बर आइतबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म पार्नेल स्क्वाएर वेष्ट, रोटुण्डा, डब्लिनमा सञ्चालन हुनेछ। उक्त शिविरमा राहदानी नवीकरणसहित विभिन्न कन्सुलर सेवा प्रदान गरिने दूतावासले जनाएको छ ।
राहदानी नवीकरणका लागि आवेदन दिने नेपाली नागरिकहरूले दूतावासको वेबसाइटमार्फत अनलाइन फारम भरेर प्रिन्टसहित नागरिकता प्रमाणपत्र, पुरानो राहदानी लगायतका आवश्यक कागजातसहित उपस्थित हुनुपर्नेछ ।
राजदूतावासका अनुसार राहदानी नवीकरणका लागि ११० पाउण्ड, हराएको राहदानीका लागि २२० पाउण्ड, र १० वर्षभन्दा कम उमेरका बालबालिकाको लागि ५५ पाउण्ड शुल्क तोकिएको छ। साथै, प्रमाणपत्र जारी गर्ने, तस्बिर प्रमाणिकरणजस्ता अन्य कन्सुलर सेवासमेत शिविरमा उपलब्ध गराइनेछ ।
शिविरबारे थप जानकारीका लागि गैरआवासीय नेपाली संघ, आयरल्याण्डका अध्यक्ष चेतराज वली (+353-871223681) र महासचिव प्रविन बराल (+353-831771347) लाई सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।
नेपाल राजदूतावासले सेवाग्राहीहरूलाई आफ्नो वेबसाइटमा उल्लेखित सूचना र आवश्यक कागजात सूची जाँच गर्न पनि आग्रह गरेको छ ।