Home Login
संघ-संस्था

अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षतामा महेन्द्रप्रसाद चम्लागाईं

बेल्जियम : विश्वका ४० भन्दा बढी देशमा छरिएर रहेका झापालीहरूको साझा छाता संगठन, अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा कतारका सफल व्यवसायी महेन्द्रप्रसाद चम्लागाईं सर्वसम्मत निर्वाचित भएका छन् । झापाको बिर्तामोडमा सम्पन्न समाजको पाँचौँ विश्व अधिवेशनले चम्लागाईंलाई सन् २०२५–२०२७ कार्यकालका लागि नेतृत्व सुम्पेको हो ।

विगत तीन दशकदेखि कतारमा रहेर व्यवसायमा स्थापित भएका चम्लागाईं यसअघि समाजका वरिष्ठ उपाध्यक्ष थिए । झापाको बाह्रदशी गाउँपालिका–डाँगीबारी निवासी उनी ताप्लेजुङको फूलबारीबाट झापा बसाइँ सरेर श्रमिकका रूपमा कतार पुगेका थिए । आफ्नो लगन र मेहनतले व्यवसायमा सफलता हासिल गरेका चम्लागाईं झापालीहरूको हकहित र सामाजिक कार्यमा निरन्तर सक्रिय छन् ।

निर्वाचन प्रमुख दिनेश पोखरेलका अनुसार, नेतृत्व चयन प्रक्रिया पूर्ण सहमतिका साथ सम्पन्न भएको थियो । उनले भने, “विश्वभरका झापालीहरूबीच एकता र सहकार्यको सन्देश दिँदै यस पटकको अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ, यो आफैँमा एक सफल र ऐतिहासिक क्षण हो ।”

समाजका सन् २०२४–२०२५ का अध्यक्ष मुकुन्द ढुङ्गानाको अध्यक्षतामा सम्पन्न पदस्थापन तथा समापन समारोहमा प्रमुख अतिथिको रूपमा झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी उपस्थित थिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले विश्वभर फैलिएका नेपालीहरूले आफ्नो जन्मभूमिप्रति देखाएको माया र सद्भाव प्रेरणादायी रहेको बताए । उनले भने, “तपाईंहरूले विदेशमा कमाएको ज्ञान, सीप र पुँजीलाई झापाको विकास र समृद्धिमा लगाउनुहुनेछ भन्ने विश्वास लिएको छु ।”

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष चम्लागाईंले विश्वभरका झापालीहरूलाई एउटै मालामा उन्नुका साथै उनीहरूको ज्ञान, सीप र लगानीलाई झापाको समग्र विकासमा जोड्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “झापाली जहाँ भए पनि हाम्रो मन र माटो यहीँ छ । अब हाम्रो सञ्जाललाई झापाको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासमा परिचालन गरिनेछ ।”

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, ‘एकका लागि एक अभियान’का संयोजक महेन्द्रकुमार गिरी, वरिष्ठ कलाकार अशोक शर्मा, पत्रकार टिकाराम यात्री लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

समारोहमा समाजलाई विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा निवर्तमान वरिष्ठ उपाध्यक्ष दिपक चुडालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन नविन पोखरेलले गरेका थिए ।

अन्तर्राष्ट्रिय झापाली समाजको नयाँ कार्यसमिति (२०२५–२०२७) :

अध्यक्ष : महेन्द्रप्रसाद चम्लागाईं (कतार)
वरिष्ठ उपाध्यक्ष : दिपक चुडाल
उपाध्यक्षहरू : नविन पोखरेल, चूडामणि कार्की
उपाध्यक्ष (महिला) : सीता पाण्डे
महासचिव : चिरण खवास
सचिवहरू : भवानी प्रसाद कोइराला, अजय राजबंशी कोषाध्यक्ष :  उमेश पोखरेल
सह–कोषाध्यक्ष : रविन गिरी

क्षेत्रीय संयोजकहरू :

मध्यपूर्व : केशव कार्की (कतार)
युरोप : लोकेन्द्र नेपाल (बेल्जियम)
ओसियानिया : निरञ्जन प्रसाई (अष्ट्रेलिया)
अमेरिका : आशिष संग्रौला (संयुक्त राज्य अमेरिका)

उप–क्षेत्रीय संयोजकहरू :

मध्यपूर्व : टिका ढकाल (ओमान)
युरोप : प्रकाश गिरी (नेदरल्याण्ड्स)
अमेरिका : दिल्ली थापा (संयुक्त राज्य अमेरिका)

Leave a Reply