रोमानिया — रोजगारीको सिलसिलामा रोमानियामा रहेका बेला दुई छुट्टाछुट्टै दुःखद घटनामा ज्यान गुमाएका तीन जना नेपालीको शव नेपाल पठाइएको छ । पूर्व अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको विशेष पहलमा बिहीबार टर्किश एयरलाइन्सको जहाजमार्फत पठाइएको शव आइतबार बिहान काठमाडौं आइपुग्ने भएको छ ।
मृत्यु हुनेहरूमा गत सेप्टेम्बर २२ मा रोमानियाको प्राहोभास्थित एक होटलमा भएको भीषण आगलागीमा परी ज्यान गुमाएका इलामकी सोनी लिम्बू र काठमाडौंकी सुस्मिता तामाङ रहनुभएको छ। उक्त दुःखद आगलागीको घटनाले रोमानियामा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको थियो ।
त्यसैगरी, सेप्टेम्बर २६ मा एक सवारी दुर्घटनामा परी असामयिक निधन भएका धनुषाका वीरेन्द्र कुमार ठाकुरको शव पनि उहाँहरूसँगै नेपाल पठाइएको छ ।
तीनवटै शव नेपाल पठाउनका लागि आवश्यक सम्पूर्ण कानुनी तथा कागजी प्रक्रिया पूरा गर्न पूर्व अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको हो । उहाँका अनुसार, लामो प्रयासपछि सबै प्रक्रिया मिलाएर बिहीबार बिहान शवहरू नेपालका लागि पठाइएको हो ।
“शवहरू अक्टोबर १९ तारीख (आइतबार) बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ,” पोखरेलले जानकारी दिनुभयो । उहाँले मृतकका परिवारजनसँग निरन्तर समन्वय गरिरहेको र शव बुझबुझारथ लगायतका कार्यमा आवश्यक सबै सहयोगका लागि आफ्नो पहल जारी रहने बताउनुभएको छ । विदेशमा ज्यान गुमाएका नागरिकको शव स्वदेश फर्काउन गरिनुपर्ने प्रक्रियागत झन्झट र परिवारको पीडालाई मध्यनजर गर्दै यो कार्यलाई प्राथमिकताका साथ सम्पन्न गरिएको उहाँको भनाइ छ ।